गोपाल झा
महोत्तरी,२४ मंसिर ।
महोत्तरीमा शुक्रबार ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विधिको शासन कायम गरौः मानव अधिकारको सम्मान गरौ भन्ने मुल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संगठनले जलेश्वरमा प्रभातफेरी निकाली यो दिवस मनाएको छ ।
जलेश्वरको बुद्धिजिवी चोक देखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा ईन्सेक,थर्ड एलायन्स,मानव अधिकार संरक्षण केन्द्र,ओरेक नेपाल,टिपिओ नेपाल,वाईएनपिडी,फ्रिडम फर अल नेपाल,प्रयास,समाज विकास केन्द्र,जिल्ला महिला संजाल,महिला मानव अधिकार रक्षक संजाल र युथ एडभोकेसी नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीले सहभागिता जनाएका थिए ।
प्रभातफेरी पश्चात भएको कोणसभामा बोल्दै मानव अधिकारवादीहरुले महोत्तरीमा मानव अधिकार हननका घटनाहरुका साथै बोक्सी आरोपमा प्रताडित गर्ने अभक्ष खुवाउने तथा महिला माथी विभिन्न प्रकारका हिंसाका घटनाहरु वढिरहेकोमा सरोकारवाला निकायहरु यसप्रति गम्भिर हुनु पर्ने बताए ।









































































































