सर्लाही, मंसिर १२ गते
सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छिन् । जिल्लाको बरहथवा नगरपालिका वडा नं. १ का शिव हजारीकी २६ वर्षीया श्रीमती कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन् ।
आइतवार बिहान आफ्नै घरमा आमा र छोराछारीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
शनिवार साँझ विदेशमा रहेका श्रीमान शिवसँग फोनमा विवाद भएको थियो । कविता र शिवले भागी प्रेम विवाह गरेका थिए ।
वडाध्यक्ष रत्न बहादुर गिरीका अनुसार राति कविताले सेवइको खीर बनाएर छोराछोरीलाई खुवाएर सुताएकी थिइन्। उनले भने, ‘सटरभित्रै किराना पसल रहेको छ। त्यहीभित्र बस्ने खाने गरेका थिए ।
आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन् ।
आइतवार बिहान कविता नउठेपछि छरछिमेकले खोजी गरेका थिए । कविताकी श्रीमान् शिव हजारी वैदेशिक रोजगारमा मलेसियामा छन् ।
सटरभित्रै तीनैजना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए ।
घटनास्थलको मुचुल्का गरि तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सभार टुडेपाटी डटकम









































































































