सरताज आलम,
श्रावण २ गते,
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ। माओवादी केन्द्रबाट दुईजनालाई मन्त्रिमण्डलमा सहभागी गराइने तयारी भएको बताइएको छ। जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका मुख्यमन्त्री राउतले यसअघि महन्थ ठाकुर–राजेन्द्र महतो समूहका मन्त्रीहरुलाई हटाएर गत जेठ २६ गते नेपाली काग्रेसबाट तीनजनालाई मन्त्रिमण्डलमा सहभागी गराएका थिए। उक्त समयमा नै माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने कुरा भए पनि भागबण्डा नमिल्दा अन्तिम समयमा सहभागी भएन। अहिले माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री चयन गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्री र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दीलिपकुमार साहले जानकारी दिए। साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित हुन् भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन्। साह र कर्णले आज शपथ लिन लागेको सचेतक साहले जनाए। माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन। जसपा उपेन्द्र यादव समूहका दुई मन्त्रीलाई ब्याक गरेर माओवादीलाई मन्त्रालय दिने कुरा भएको बताइएको छ। स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ।








































































































