
३१ असोज, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे खोक्सीमा पुरानो रिसइबीका कारण स्थानीयबीच कुटपिट भएको थियो। कुटपिटबाट स्थानीय ४५ वर्षीय सुरेन्द्र दास, उनकी श्रीमती ४० वर्षीया उषा देवी दास तथा छोराहरू २५ वर्षीय राधाकृष्ण दास, २२ वर्षीय हरिकृष्ण दास र १७ वर्षीय देवकृष्ण दास घाइते भएका थिए।
प्रहरीका अनुसार सुरेन्द्रको खुट्टा र दाहिने हातमा, उषाको दाहिने हातमा तथा राधाकृष्णको टाउकोमा चोट लागेको थियो। हरिकृष्ण र देवकृष्णलाई भित्री चोट लागेको बताइएको छ। घाइते पाँचै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उपचारपछि उनीहरूलाई असोज ३१ गते बिहान डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
कुटपिटपछि आक्रोशित बनेको समूहले दुईवटा मोटरसाइकलमा आगो लगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। करिब १५० देखि २०० जनाको समूहले मोटरसाइकलमा आगो लगाएको बताइएको छ। आगलागीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
तीमध्ये एउटा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन भने अर्कोको नम्बर बीआर–३२ यू ६०१६ रहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकलका धनीको पहिचान खुल्न सकेको छैन।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जानकीनगरबाट प्रहरी सहायक निरीक्षक ओम प्रमोद साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेशपुर पतार, बरियारपट्टी, झाझपट्टी तथा प्रहरी चौकी कचनारीबाट समेत थप प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले असोज ३१ गते बिहान कुटपिटमा संलग्न रहेको आरोपमा टुनटुन भन्ने राजकुमार यादव, कृष्ण यादव र कपिल यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार हाल घटनास्थलको अवस्था सामान्य छ







