गोपाल झा । महोत्तरी , असोज २५ गते
‘जय माता दी’ र ‘दुर्गा भवानीको जय’ भन्ने जयकारले आइतबार महोत्तरीको एकडारा गाउँ गुञ्जायमान बनेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा एकडारास्थित दुर्गा मन्दिरबाट भव्य कलश शोभायात्रा निकालिएको हो । एक हजारभन्दा बढी कुमारी कन्यासहित हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको कलश शोभायात्राले गाउँलाई भक्तिमय बनाएको थियो ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि श्रद्धा, आस्था र निष्ठाका साथ मनाउन थालिएको बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई आश्विन शुक्ल पूर्णिमासम्म मनाउने परम्परा छ । नवरात्रको पहिलो दिन घटस्थापनासँगै माता दुर्गा भवानीको विशेष पूजाअर्चना सुरु भएको हो । यस अवसरमा एकडारा गाउँपालिका–१ स्थित दुर्गा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको चहलपहल बढेको थियो ।
घटस्थापनाको अवसरमा आयोजित कलश शोभायात्रामा एक हजारभन्दा बढी कुमारी कन्याको सहभागिता रहेको थियो। धार्मिक विधिअनुसार कलश बोकेका कुमारी कन्या तथा श्रद्धालु भक्तजनको लामो पङ्क्तिले गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो । स्थानीय महिला, पुरुष, व्यवसायी, पेसाकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले शोभायात्रालाई थप भव्य बनाएको थियो ।
एकडारा गाउँपालिका–१ स्थित दुर्गा मन्दिरको प्राङ्गणबाट सुरु भएको शोभायात्रा गाउँको ब्रह्मस्थानमा पुगेर विधिपूर्वक पूजाअर्चना गरेपछि अगाडि बढेको थियो । त्यसपछि गाउँको पश्चिमतर्फ लाग्दै गरेको बजार हुँदै वडा नम्बर २ अन्तर्गतको बेला गाउँको परिक्रमा गरिएको थियो ।
गाउँ परिक्रमा गर्ने क्रममा शोभायात्रा एकडारा पाठशाला चोकस्थित पोखरीमा पुगेको थियो । त्यहाँ सहभागी कुमारी कन्याहरूले धार्मिक विधिअनुसार जल भरेका थिईन् । जल भरिएको कलशसहितको शोभायात्रा पुनः दुर्गा मन्दिरको प्राङ्गणमा पुगेपछि कलश स्थापना गरी धार्मिक कार्यक्रम विधिपूर्वक सम्पन्न गरिएको छ ।
कलश शोभायात्राका क्रममा स्थानीय लोकलयमा आधारित भजनकीर्तन, धार्मिक गीत तथा बाजागाजाले वातावरण भक्तिमय बनेको थियो । स्थानीय वेशभूषामा सजिएका श्रद्धालुहरू झण्डा तथा तोरण बोकेर कलश शोभायात्रामा सहभागी भएका थिए । देवी दुर्गाप्रतिको आस्था र धार्मिक उत्साह झल्काउने यस कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक परम्परालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।
कलश यात्रामा हजारौँ भक्तजनहरुको सहभागिताले एकडारा गाउँ भक्तिमय बनेको थियो । धार्मिक आस्था, परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले बडादसैँको रौनक गाउँमा भित्र्याएको छ । आयोजक समितिका अनुसार कलश शोभायात्रामा महिला, पुरुष, युवा तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कलश शोभायात्राका क्रममा स्थानीय बबिन्द्र साहलगायतका व्यक्तिहरूले सहभागी कुमारी कन्याहरूलाई फलफूल तथा पेय पदार्थ वितरण गरेका थिए । धार्मिक कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन स्थानीय व्यवसायी तथा समाजसेवीहरूले सहयोग गरेका हुन् ।
कलश स्थापना विधि सम्पन्न भएपछि दुर्गा मन्दिरको प्राङ्गणमा पूजा समितिका तर्फबाट कुमारी कन्याहरूलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि धार्मिक तथा सामाजिक कार्यमा यस्तै सहयोग र सद्भाव कायम रहने विश्वास वडा नम्बर १ का वडाध्यक्ष मनोज मण्डलले व्यक्त गरेका छन् ।
एकडारामा विगत ३० वर्षदेखि प्रत्येक वर्ष शरद ऋतुमा शारदीय दुर्गापूजा आयोजना हुँदै आएको छ । यस वर्षको दुर्गापूजामा करिब नौ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको दुर्गापूजा समितिका अध्यक्ष सोपिन्द्र यादवले जानकारी दिएका छन् ।
दुर्गापूजा सम्पन्न गर्न एकडारा र बेला गाउँका स्थानीयवासीले आफ्नो क्षमताअनुसार नगद तथा चामल, दाल, आलुलगायतका खाद्यान्न सामग्री सहयोग गर्दै आएका छन् । स्थानीयवासीको सामूहिक सहयोग र सहभागिताकै कारण वर्षौंदेखि दुर्गापूजाको परम्परा निरन्तर चल्दै आएको अध्यक्ष यादवले बताए । त्यस्तै यस वर्ष एकडारा गाउँपालिकाको कार्यालयबाट करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने आश्वासन प्राप्त भएको पनि अध्यक्ष यादवले जानकारी दिएका छन् । स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै सामूहिक सहभागितामा पर्व मनाउने उद्देश्यले पूजा समितिले तयारीलाई अघि बढाएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापनासँगै सुरु भएको पूजाअर्चना आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनेछ । नौ दिनसम्म माता दुर्गा भवानीका विभिन्न स्वरूपको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्पराअनुसार मन्दिरमा विशेष पूजापाठको आयोजना गरिनेछ । पूजा समितिका अनुसार सप्तमी तिथिका दिन विशेष पूजाअर्चना गरेपछि मन्दिरमा निर्माण गरिएको दुर्गा भवानीको प्रतिमा सर्वसाधारणको दर्शन तथा पूजाअर्चनाका लागि सार्वजनिक गरिनेछ । दुर्गा भवानीसँगै महिषासुर, लक्ष्मी, सरस्वती र गणेशलगायतका प्रतिमाको पनि पूजाअर्चना गर्ने परम्परा रहेको छ ।
दसैँको अवसरमा मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने पूजा समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् । पर्व अवधिभर लाग्ने मेलामा स्थानीय सांस्कृतिक, धार्मिक परम्परा र सामाजिक सद्भाव झल्काउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
कलश स्थापना तथा शोभायात्रा सम्पन्न भएपछि नवरात्रको पहिलो दिनकी अधिष्ठात्री देवी नवदुर्गाको प्रथम स्वरूप शैलपुत्रीको वैदिक परम्पराअनुसार आज पूजाअर्चना गरिएको थियो । नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्ने र देवी दुर्गाको आराधना गर्ने धार्मिक मान्यता छ ।
नवरात्रभर भक्तजनहरूले माता दुर्गाका नौवटै स्वरूपको पूजा, उपासना र आराधना गर्ने गर्छन् । धार्मिक विश्वासअनुसार देवी दुर्गाको आराधनाले सुख, शान्ति, समृद्धि तथा शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।
एकडारामा आयोजित कलश शोभायात्राले धार्मिक आस्थासँगै स्थानीय एकता, सहयोग र सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ । स्थानीयवासीको सक्रिय सहभागिता, व्यवसायीको सहयोग र पूजा समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रमले यस वर्षको बडादसैँलाई थप उल्लासमय बनाएको छ ।
कलश शोभायात्रा तथा घटस्थापनाको सफल समापनसँगै एकडारामा नवरात्रको धार्मिक उत्सव औपचारिक रूपमा सुरु भएको छ । आगामी दिनमा हुने विशेष पूजाअर्चना, देवी दर्शन तथा दसैँ मेलाले गाउँको धार्मिक तथा सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।







