
१३ चैत, काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ।
आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पूर्वी तथा मध्य भागमा यसको प्रभाव बढी देखिने सम्भावना छ भने पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने बताइएको छ।
काठमाडौं उपत्यकामा पनि आज साँझतिर मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ। भोलि शनिबार पनि उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिए ।
मौसमविदहरूका अनुसार प्रिमनसुनको समय भएकाले यस अवधिमा हावाहुरी, चट्याङ र असिनाको जोखिम बढी हुने गर्दछ। त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी किसान तथा सर्वसाधारणलाई असिना र हुरीबाट हुन सक्ने क्षतिबाट जोगिन सावधानी अपनाउन सुझाव दिइएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसले तापक्रममा केही गिरावट ल्याई देशभर चिसो महसुस हुने देखिएको छ।
यसपटकको प्रणाली यसअघि चैत ६ र ७ गते सक्रिय भएको प्रणालीभन्दा कम शक्तिशाली हुने अनुमान गरिएको छ। तर पनि छोटो अवधिका लागि हावाहुरी र वर्षाले दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ।
मौसमविदहरूका अनुसार यसको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा हिजैदेखि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । त्यो क्रम आज झन् बढ्ने र भोलि शनिबार दिउँसोसम्म कायम रहने सम्भावना छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ ।






































































































