जनकपुरधाम, वैशाख २२ । जगतगुरु रामभद्राचार्यले नेपाल र भारत दुवै हिन्दुराष्ट्र हुनुपर्ने बताएका छन् ।
सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्न आएका चित्रकुट तुलसीपीढाधीश्वर जगतगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यले एउटा मात्रै रहेको हिन्दु राष्ट्रलाई बरबाद गरिएको बताए । उनले इसाई र मुस्लिमहरूले नेपालमा धर्मान्तर गरिरहेकाले नेपाल र भारत दुवै हिन्दु राष्ट्र हुनुपर्ने बताए ।
जानकी नवमीको अवसरमा जानकी मन्दिरमा कथालगायतका कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । मंगलबार जानकी नवमी रहेकोमा सोमबार मन्दिरमा दर्शन गर्न आएका जगतगुरु रामभद्राचार्यले यहाँ आउँदा आफू एकदमै खुसी रहेको बताउँदै यो आफूहरूको सम्धियाना रहेकाले यहाँ जीवनभर आउने बताए ।
उनले मिथिला क्षेत्रमा मांस मदिरा धेरै पाउने गरेकाले यसबाट टाढा हुनुपर्ने बताए । रामभद्राचार्यले अहिले धेरै ठाउँमा हिन्दु समुदायमाथि आक्रमण हुने गरेकाले हिन्दुहरू जागृत हुनुपर्ने बताए ।
मिथिला क्षेत्रमा मनाइने जानकी नवमीको अवसरमा मधेस सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।






































































































