Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नेपाल पहिलो पटक दक्षिण अफ्रिकासँग भिड्दै, छैन जितको भराेसा

प्रतिक्षा खबर
२०८१ जेष्ठ ३२, शुक्रबार २०:१५
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ ।

नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा रहेका छन् । यो खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ । प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालसँग दक्षिण अफ्रिकालाई हराउनुको विकल्प छैन ।

नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ । नेपाल भने वरीयताको १७औँ स्थानमा आसीन छ ।

दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा सहभागी भएको हो । नेपाल भने एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो ।

यसअघि नेपालले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । त्यतिबेला नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

यसअघि दुई पटक दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका सन् २००९ को सेमिफाइनलमा पाकिस्तानसँग सात रनले पराजित भएको थियो । त्यसपछि सन् २०१४ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले हराएको थियो ।

अङ्क तालिकाको समीकरण

समूह ‘डी’ मा नेपाल बाहेक अन्य टोलीले तीन–तीन खेल खेलिसकेका छन् । नेपालले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । तीन खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका पहिलो र समान खेलबाट चार अङ्क जोड्दै बङ्गलादेश दोस्रो स्थानमा छन् ।

Capture

यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको नेपाल चौथो स्थानमा आसीन छ । तीन खेलबाट एक अङ्क जोडेको श्रीलङ्का पाँचौँ स्थानमा छ । श्रीलङ्का भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगिसकेको छ । दक्षिण अफ्रिका नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने पहिलो टोली पनि हो । नेपालले भने सुपर–८ मा पुग्ने सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ । नेपालले अन्तिम खेल बङ्गलादेशसँग खेल्नेछ ।

अघिल्ला दुई खेलमा नेपालको प्रदर्शन

नेपाली टोली समूहगत चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । त्यो खेलमा नेपालको ब्याटिङ र फिल्डिङ निराशाजनक देखिएको थियो ।

महत्वपूर्ण क्षणमा नेपालले दुईवटा क्याच छाडेको थियो भने एउटा रन आउटको अवसर पनि खेर फालेको थियो । त्यो खेलमा नेपालका कप्तान रोहित पौडेल बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । रोहितले सर्वाधिक ३५ रन बनाएका थिए । नेपालको ओपनिङ जोडी पनि सस्तैमा पेभेलियन फर्किएको थियो ।

ओपनर कुशल भुर्तेल सात र आसिफ शेख चार रनमा आउट भएका थिए । कप्तान रोहितका अतिरिक्त अनिल साह (११ रन), गुलसन झा (१४ रन) र करण केसी (१७ रन) ले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सकेका थिए । समग्रमा तीव्र गतिका दक्षिण अफ्रिकी बलरको आक्रमणका अगाडि नेपाली ब्याट्सम्यानहरू निरीह बनेका थिए ।

बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । नेपाल र श्रीलङ्काबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए । शनिबारको खेलमा दक्षिण अफ्रिकालाई हराउन सके नेपाली टोली तीन अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लनेछ ।

दक्षिण अफ्रिकाको अघिल्लो तीन खेल

अर्कोतिर, जारी विश्वकपमा दक्षिण अफ्रिका बलियो टोलीको रूपमा देखिएको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका समूहगत चरणमा अपराजित रहँदै ‘सुपर–८’ चरणमा पुग्ने धुनमा छ ।

New-Project-2024-06-14T130203.427

त्यसैले टेस्ट राष्ट्र दक्षिण अफ्रिका शनिबारको खेलमा नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । त्यो खेलमा श्रीलङ्काले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा पुरा गरेको थियो ।

आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको थियो । तेस्रो खेलमा भने दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गरेको थियो । जारी विश्वकपमा दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भिडन्त

नेपाल र दक्षिण अफ्रिकाको सिनियर टोलीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । त्यसैले यी दुवै टोली एक–अर्काका लागि नयाँ प्रतिद्वन्द्वी हुन् । विश्वकपमा शनिबार यी दुई टोलीबिच पहिलो पटक आपसमा भिडन्त हुनेछ ।

उमेर समूहमा नेपालले हराएको प्रतिद्वन्द्वी

उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने यसअघि नेपालले दुई पटक दक्षिण अफ्रिकालाई हराएको छ । सन् २००४ को यू–१९ विश्वकप बंगलादेशमा आयोजना भएको थियो । त्यो विश्वकपमा नेपालले पनि सहभागिता जनाएको थियो । त्यो विश्वकपमा नेपालले समूहगत चरणमा दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो ।

यसैगरी सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । त्यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि पनि चुमेको थियो ।

यू–१९ विश्वकपमा नेपालले हासिल गरेको त्यो सबैभन्दा ठुलो उपलब्धि थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनल खेलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पराजित गरेको थियो ।

सन्दीपको आगमनले उत्साही

जारी विश्वकपमा नेपालको यसअघिको दुवै खेल अमेरिकामा थियो । अघिल्ला दुईमध्ये एक खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । अघिल्ला दुई खेलमा प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी थिएनन् ।

अमेरिकाले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । तर, नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्दैछ । पछिल्ला दुवै खेलमा सन्दीप लामिछाने नेपाली टोलीमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

सन्दीप विश्वकपको पछिल्ला दुई खेल खेल्न एक साताअघि नै वेस्ट इन्डिज पुगिसकेका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि सन्दीपले अभ्यास गर्दै गरेको तस्बिरहरू पनि क्यानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

क्यानले विश्वकपको पछिल्ला दुई खेलका लागि सन्दीपलाई टोलीमा पनि समावेश गरेको छ । त्यसैले दक्षिण अफ्रिकाविरुद्धको खेलमा सन्दीप पनि प्लेइङ–११ भित्र पर्ने अनुमान गरिएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि सन्दीपले पछिल्ला दुई खेल खेल्ने सङ्केत गरेका छन् ।

पछिल्लो समय सन्दीपले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरे पनि व्यावसायिक क्रिकेटमा सक्रिय रहेकाले उनको लयमा कुनै फरक नपरेको कप्तान रोहितको बुझाइ छ । सन्दीपले गत वर्षको नोभेम्बरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

सन्दीप वेस्ट इन्डिजका स्टेडियमको पिचसँग पनि राम्रैसँग परिचित छन् । क्यारेबियन राष्ट्रको पिचमा स्पिन बलरहरूले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएको पाइन्छ । २३ वर्षीय सन्दीपले यसअघि क्यारेबियन प्रिमियर लिग पनि खेलिसकेका छन् ।

पुरा गर्लान् त सय विकेटको कोशेढुंगा ?

नेपाली टोलीका प्रभावशाली बलर सन्दीप लामिछाने नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय विकेटको सँघारमा छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ९८ विकेट लिइसकेका छन् ।

जारी विश्वकपको दक्षिण अफ्रिकाविरुद्धको खेलमा थप दुई विकेट लिए उनले एक सय विकेटको कोशेढुंगा पार गर्नेछन् । सन्दीपले ५२ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ९८ विकेट लिएका हुन् । दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि ५३औँ खेल हुनेछ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा थप दुई विकेट लिएमा उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा कीर्तिमानको बराबरी पनि गर्नेछन् । सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने खेलाडीको सूचिमा आफ्नो नाम दर्ता गराउने छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलर अफगानिस्तानका रासिद खान हुन् । उनले पनि ५३ खेल खेल्दै एक सय विकेट लिएका हुन् । शनिबारको खेलमा थप दुई विकेट लिए सन्दीपले रासिदको बराबरी गर्नेछन् ।

सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा गरेको उत्कृष्ट प्रदर्शन केवल नौ रन दिएर पाँच विकेट हो । विभिन्न राष्ट्रमा चर्चित फ्रेन्चाइज क्रिकेट खेलिसकेका उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पाँच विकेट र दुई पटक चार विकेट लिएका छन् ।

यसका अतिरिक्त उनले ५१ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ५० पालीमा कुल एक सय १२ विकेट लिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीन पटक पाँच वा त्योभन्दा बढी विकेट र आठ पटक चार विकेट लिएका छन् ।

सन्दीप सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरूको सूचिमा चौथो नम्बरमा रहेका थिए । उनले सन् २०२३ मा २१ खेल खेल्दै ४३ विकेट लिएका थिए । भारतका मोहम्मद सामीले भने १९ खेलमा ४३ विकेट लिएका थिए ।

त्यो वर्ष भारतका कुलदीप यादबले २९ पालीमा सर्वाधिक ४९ विकेट लिएका थिए । यो सूचिको दोस्रो स्थानमा रहेका भारतीय बलर मोहम्मद सिराजले २४ पालीमा ४४ विकेट लिएका थिए । नेपाललाई टी–२० विश्वकपमा छनोट गराउन पनि सन्दीपको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

ओपनिङ जोडीमा सुधार आवश्यक

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ओपनिङ जोडीको प्रदर्शन प्रभावकारी देखिएको छैन । जारी विश्वकपको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पनि यो क्रमले निरन्तरता पायो । त्यो खेलमा नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किए ।

ओपनिङ जोडीले गतिलो सुरुआत दिन नसकेपछि दबाबमा परेका अन्य ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किने क्रम जारी रह्यो । ओपनिङ जोडीले डच टोलीविरुद्ध केवल १० रनको साझेदारी गरेको थियो ।

विश्वकपअघि खेलिएको क्यानडाविरुद्धको अभ्यास खेलमा पनि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । क्यानडाविरुद्धको उक्त खेलमा ओपनर कुशल भुर्तेल केवल १० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर आसिफ शेख पनि २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

विश्वकपमा बलिया प्रतिद्वन्द्वीहरुविरुद्ध टोलीलाई गतिलो सुरुआत दिन ओपनिङ जोडीले निखारिएको प्रदर्शन गर्नुको विकल्प देखिँदैन । विश्वकपअघि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० शृङ्खलामा पनि नेपालको ओपनिङ जोडी खासै प्रभावकारी देखिएको थिएन ।

उक्त शृङ्खलाको नामिबियाविरुद्धको पहिलो खेलमा कुशल शून्य रनमा र आसिफ शेख ६ रनमै आउट भएका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा कुशल भुर्तेल शून्य रनमा र आसिफ शेख ३४ रनमा पेभेलियन फर्किएका थिए ।

नामिबियाविरुद्धको तेस्रो खेलमा भने ओपनरको भूमिकामा कुशल भुर्तेलको स्थानमा अनिल साह आएका थिए । त्यो खेलमा अनिल साह २३ रन बनाउँदै आउट भएका थिए भने आसिफ शेख एक रनको व्यक्तिगत स्कोरमै क्रिजबाट बाहिरिएका थिए । नेदरल्यान्ड्सविरुद्धको चौथो खेलमा नेपालका ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख आठ रन बनाउँदै आउट भएका थिए ।

यसैगरी सन् २०२४ को अप्रिलमा ओमानमा खेलिएको एसीसी प्रिमियर कपमा पनि नेपाली ओपनरको भूमिका खासै प्रभावकारी देखिएको थिएन । प्रिमियर कपमा नेपाल चौथो भएको थियो । तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख पाँच रनमा आउट भएका थिए ।

त्यसअघि खेलिएको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा पनि नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख आठ रनमा पेभेलियन फर्किएका थिए ।सोही प्रतियोगिताको समूहगत चरणमा साउदी अरेबियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शून्य र आसिफ शेखले दुई रनमात्र बनाउन सकेका थिए ।

यसैगरी समूहगत चरणमै हङ्कङविरुद्धको खेलमा भने नेपालको ओपनिङ जोडीले निखारिएको प्रदर्शन गरेको थियो । त्यो खेलमा ओपनिङ जोडीले ७० रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३२ र आसिफ शेखले ४० रन बनाएका थिए ।

कतारविरुद्धको खेलमा पनि नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमा पेभेलियन फर्किएका थिए ।

एसीसी प्रिमियर कपको समूहगत चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन खासै प्रभावकारी थिएन । त्यो खेलमा ओपनिङ जोडीले ४४ रनको साझेदारी गरेको थियो । त्यो खेलमा ओपनर कुशल भुर्तेलले २४ र आसिफ शेखले ३२ रन बनाएका थिए । त्यसैले टी–२० विश्वकपको बुधवार बिहान खेलिने श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपालको ओपनिङ जोडीमाथि धेरैको आँखा रहने छ ।

वर्षाको सम्भावना कम

नेपाल र दक्षिण अफ्रिकाबिच खेल हुने दिन शनिबार किङ्सटाउनको आकाश बादलले ढाकिएको हुनेछ । तर, वर्षाको सम्भावना भने निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । किङ्सटाउनमा शनिबारको औसत तापक्रम ३० डिग्री सेल्सियस रहने बताइएको छ ।

सन्तुलित प्रकृतिको पिच

नेपाल र दक्षिण अफ्रिकाबिचको खेल हुने किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियमको पिच सन्तुलित प्रकृतिको रहेको छ । यो स्टेडियममा यसअघि बङ्गलादेश र नेदरल्यान्ड्सबिचको खेल खेलिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गर्दै बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सकेको थियो । खेलमा बङ्गलादेश २५ रनले विजयी भएको थियो । त्यो खेलको सुरुको ओभरमा बल निकै स्विङ भएको देखिन्थ्यो । सुरुको केही ओभरपछि त्यहाँको पिचले स्पिन बलरहरूलाई राम्रो साथ दिएको थियो । यो स्टेडियममा ब्याट्सम्यानको प्रदर्शन पनि सन्तोषजनक देखिन्छ ।

सम्भावित टोली

नेपालको सम्भावित टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलसन झा, करण केसी, सागर ढकाल वा सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन् ।

यसैगरी दक्षिण अफ्रिकाको सम्भावित टोलीमा एडेन मारक्रम (कप्तान), क्विन्टन डी काक (विकेटकिपर), रिजा हेन्ड्रिक्स, ट्रिस्टन स्टब्स, हेनरिच क्लासेन, डेभिड मिल्लर, मार्को जानसेन, केशव माहाराज, कागिसो राबडा, ओट्निल बार्टम्यान र एनरिच नोर्जे रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर