प्रतिक्षा खबर ,रामगाेपालपुर
प्रदेश नम्बर २ मा प्रदेश सरकारले आज (विहिबार) प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।प्रत्येक वर्षको सुरुमै २ गते मनाइने जुडशितल पर्वलाई मध्यनजर गदैै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको निजी सचिवालयले एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।कार्यालयको अन्तिम समयमा मन्त्रीको निजी सचिवालयले सार्वजनिक विदाको घोषणा गरेको सूचना जारी गरेको हो । प्रदेशमा विदा भएको नभएको बारे विभिन्न व्यक्तिहरुको फरक फरक धारणा आएपछि दबाबमा सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनिक गरेको हो ।विहान करिब ९ः४५ बजेसम्म प्रदेश २ मा सार्वजनिक विदाको बारेमा कुनै अधिकारिक धारणा नआएपनि मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिव दिपक यादवले दुई बर्ष पुरानो विज्ञप्ति सहित सार्वजनिक विदाको पत्र राखेपछि चौतर्फी आलोचना भएको थियो ।जानकारी अनुसार, सोही चौतर्फी आलोचनापछि आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट एक दिने सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनकि गरिएको हो । बैशाख २ गते सार्वजनिक विदाको लागि बैशाख १ गते सूचना जारी हुनुपर्नेमा २ गते अन्तिम समयमा आएर सार्वजनिक विदा दिएपछि कर्मचारीहरु पनि आक्रोसित भएका छन् ।
विहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।सार्वजनिक विदाको लागि कम्तीमा पनि एक दिन अगावै जानकारी हुनुपर्नेमा मिडियाको दबाबका कारण अन्तिम समयमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । यसअघि मन्त्रालयका प्रवक्ता अवध किशोर कुशवाहाले समेत विदा नरहेको जनाएका थिए ।यसका साथै, कानुन मन्त्रालयका सचिव बीरेन्द्र यादवले समेत विहिबार प्रदेश नम्बर २ मा सिरहा र सप्तरी बाहेक अन्य जिल्लामा सार्वजनिक विदा नरहेको प्रतिक्रिया दिएका थिए । तर, समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका स्वकीय सचिव यादवको आलोचनापछि दबाबमा मन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको हो ।







