नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिकी पत्नी अनामिका निधिले पार्टीको १४ औं महाधिवेशनको प्रतिनिधिमा चुनाव नलड्ने घोषणा गरेकी छिन्। उनले आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि नउठ्ने घोषणा गरेकी हुन्।
१४ औं महाधिवेशनमा श्रीमान सभापतिमा उठ्ने भएपछि उनलाई सहयोग गर्ने उद्देश्यले आफू महाधिवेशन प्रतिनिधिमा नउठ्ने निधोमा पुगेको अनामिकाले बताइन्।
‘विगतमा महाधिवेशन प्रतिनिधि बनेर आउने महिलाहरूको संख्या कमै हुन्थ्यो। त्यसैले नेताका पत्नीहरूलाई नै उठाउन जोड दिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले परिस्थिति फेरिएको छ। थुप्रै महिला साथीहरू नेतृत्वमा आउन थाल्नुभएको छ। मैले छोडेपछि त्यो ठाउँमा अरूले लडेर प्रतिनिधि बन्ने अवसर पाउनु हुनेछ।’
६ महिनाअघि महाधिवेशन प्रतिनिधिमा नउठ्ने निक्र्यौलमा पुगेको उनले बताएकी छिन्। आफू महाधिवेशन प्रतिनिधिमा नउठ्ने विषयमा जिल्लाका नेताहरूलाई पनि उनले जानकारी गराइसकेको बताइन्।
नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, धनुषा जिल्ला सभापति महेशशंकर गिरी, क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, प्रदेश क्षेत्रीय सभापति दिनेशचन्द्र लाल, नेता धिरेन्द्रकुमार निधिलगायतलाई फोन गरेर आफ्नो निर्णयबारे जानकारी गराइसकेको अनामिकाले बताइन्।
१८ वर्षदेखि कांग्रेस क्रियाशील सदस्य रहेकी उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पछिल्लो तीन पटकदेखि महाधिवेशन प्रतिनिधि बन्दै आइरहेकी थिइन्।










































































































