गोपाल झा , महोत्तरी भदौ ११ गते
जनता समाजवादी पार्टी –जसपा _ नेपालले सरकारद्वारा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको विरोधमा महोत्तरीको एकडारामा बुधबार साँझ सशक्त विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा सयौं स्थानीयवासी, किसान, बुद्धिजीवी र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले हातमा पार्टीको झण्डा र विरोध सन्देश लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । उनीहरूले भूमि विधेयक सर्वसाधारण किसानको हितमा नभई दलाल र भू–माफियाको पक्षमा तयार पारिएको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।
विरोध सभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य श्याम यादवले विधेयकको तीव्र आलोचना गरे । केन्द्रीय सदस्य यादवले यो विधेयक लागू भयो भने तराई–मधेशका गरीब किसान भूमिहीन हुने भन्दै जंगल र सार्वजनिक जग्गा दलाल र माफियाको कब्जामा जाने भएकोले यस्तो जनविरोधी विधेयकको विरुद्ध हामी अन्तिमसम्म संघर्ष गने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष राम नरेश यादवले भूमि विधेयक सचिवालयस्तरबाट डिजाइन गरिएको र यसमा ग्रामीण जनताको आवाज सुन्ने प्रयास नगरेको आरोप लगाए । उनले यो विधेयक लागू भए मधेशका सच्चा किसान भूमिहीन हुन्छन् । जंगल, खोलाका जमिन र गुठीका सम्पत्तिहरू भू–माफियाको हातमा सर्छ । यो विधेयक मधेशी जनताको अधिकार हनन गर्ने एक योजनाबद्ध षड्यन्त्र रहेको भन्दै किसानका नाममा चलिरहेको राजनीति र लुटतन्त्रको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य श्याम यादव, प्रदेश समिति सदस्य दिपेन्द्र मधेसी, जिल्ला अध्यक्ष राम नरेश यादव, जिल्ला सचिव महेश यादव, र पालिका अध्यक्ष दिप नारायण मण्डललगायतका नेताहरूले आ–आफ्ना धारणा राख्दै सरकारलाई विधेयक सच्याउन वा फिर्ता लिन दबाब दिनुपर्नेमा जोड दिए ।
उनीहरूले भूमि विधेयकले संविधानमा प्रत्याभूत गरिएका किसानका अधिकारहरू कुण्ठित गर्ने खतरा रहेको र यसले मधेशका स्थानीय तहको संरचना तथा अधिकारमै प्रश्न उठाउने बताए ।
बक्ताहरुले गौर घटनाका नाममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने प्रयास भइरहेको बताउँदै उनीहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै चेतावनी दिएका छन् कि यदि वर्तमान सत्ताले मधेश विरोधी रवैया नसुधारे, नयाँ मधेश विद्रोहको सुरुवात हुन सक्ने चेतावनी दिएका छन् । उनिहरुले जसपाका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवमाथि मुद्दा लगाएर मधेश आन्दोलनको भावना दबाउन खोजिएको आरोप समेत लगाएको छ ।
जनसभा मार्फत जसपाले देशव्यापी रूपमा भूमि विधेयकको विरोधमा जनजागरण अभियान संचालन समेत गरेका छन् । पार्टीले स्थानीय तहदेखि संघीय तहसम्म जनमत तयार पार्दै संसद र सडक दुवैमार्फत दबाब सृजना गर्ने रणनीति लिएको बताइएको छ ।
सहभागीहरूले आन्दोलनलाई अझ सशक्त र लामो समयसम्म कायम राख्ने प्रतिज्ञा गर्दै पार्टी नेतृत्वलाई ऐक्यबद्धता जनाएका थिए । कार्यक्रमले एकडारामात्र नभई सम्पूर्ण मधेशमा भूमि विधेयकबारे जागरूकता फैलाउन ठूलो भूमिका खेलेको बताइएको छ ।
जसपाले भदौ ९ गतेबाट सुरु गरेको भूमि विधेयकविरुद्धको आन्दोलन भदौ १५ गतेसम्म देशका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत १५ गते महोत्तरीको जलेश्वरमा बृहत्त बिरोध कार्यक्रम गर्ने जनाएको छ ।










































































































