Advertisement

सम्सी नाकाबाट गाई तस्करीमा तीव्र बढोत्तरी,१० कराेड भन्दा बढिकाे गाई तस्करी, सुरक्षामा लापरबाहीको आरोप

प्रतिक्षा खबर
२०८२ मंसिर ५, शुक्रबार २२:२६

नारेन्द्र महताे
महोत्तरी — नेपाल–भारतको सम्सी नाकाबाट गाई तस्करी तीव्र रूपमा बढ्दै गएको स्थानीयवासीहरूले बताएका छन्। उनीहरूका अनुसार तस्करहरूले गाईलाई भ्यानमा लोड गरी सिमानाबाट करिब आधा किलोमिटर उत्तर तर्फका घर, बगैंचा र रुखबोटमा लुकाएर राख्ने गरेको र राति अबेर भारततर्फ लैजाने गरेको बताइन्छ।

स्थानीयवासीका अनुसार, गाई तस्करीमा सुरक्षा निकायको मिलेमतो रहेको आशंका वर्षौंदेखि उठ्दै आएको छ। सम्सी र रघुनाथपुर क्षेत्रमा सिमासुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलको भए पनि तस्करी अझै रोकिएको छैन।

रातमा सयौँ गाई भारततर्फ पास
स्थानीयले दिएको विवरणअनुसार,
सोमबार र बिहीबारबाहेकका रातमा करिब २०० गाई तस्करी हुने गरेको,
जबकि सोमबार र बिहीबारका रात विशेष रूपमा धेरै गाई तस्करी हुने र एकै रातमा ५००–५०० गाईसम्म भारततर्फ पुर्‍याइने गरेको दाबी छ।

यो हिसाबले हेर्दा महिनामा १० हजारभन्दा धेरै गाई सम्सी नाकाबाट भारततर्फ तस्करी हुने अनुमान स्थानीय स्रोतले गरेका छन्।
गाईको औसत मूल्यका आधारमा महिनामा १० करोड रुपैयाँभन्दा बढीको गाई तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ।

सुरक्षा निकायप्रति गम्भीर प्रश्न
गाई तस्करी सम्बन्धी भिडियो तथा समाचारहरू प्रायः दैनिक रूपमा बाहिरिइरहे पनि नियन्त्रणमा सुधार नदेखिनु स्थानीयहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ। नेपालमा गाई राष्ट्रिय जनावर भएकाले यसको तस्करी रोक्न राज्य जिम्मेवार रहेको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार, महोत्तरीका सशस्त्र प्रहरी प्रमुख (SP) र मधेश प्रदेशका डिएसपी तथा डिआईजीलाई सम्बन्धित भिडियो, सूचना र उजुरीहरू पठाइए पनि अवस्था उस्तै रहेको आरोप लगाइएको छ।

स्थानीयको माग : “कडा कारबाही र प्रभावकारी निगरानी”
तस्करीको मात्रा बढ्दै गएपछि स्थानीयवासीले सरकार, प्रदेश सरकार र सशस्त्र प्रहरी बललाई
रातिको गस्ती कडाइ गर्ने,
सिमानामा सीसीटीभी जडान गर्ने,
तस्करीमा संलग्न समूह र सुरक्षा निकायभित्र हुनसक्ने मिलेमतोको छानबिन गर्ने जस्ता माग गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर