पुजा वैश्य – काठमाडौ, जेठ २१ गते । शुक्रबार प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै कुनैपनि पत्रकारलाई सेवाबाट नहटाउन र कामबाट बञ्चित नगर्न तथा ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन मिडिया हाउसहरुलाई अनुरोध गरेको छ । कोरोनाको दोस्रो लहरपछि हालसम्म १९ जना पत्रकारको निधन भएको र ९ सय संक्रमित भएकामा २ सय जना सक्रिय संक्रमित रहेको काउन्सिलले जनाएको छ । हाल ३० जना अस्पतालमा भर्ना भएको र ५ जनाको आइसीयू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको विज्ञप्तिमा उल्लेख रहेको छ। सेवाबाट हटाइएको सम्बन्धमा काउन्सिलमा धेरै वटा लिखित तथा मौखिक उजुरीहरू आए सँगै कतिपय श्रमजीवी पत्रकारहरुले प्रत्यक्ष भेटेर पनि जानकारी गराएका छन् । त्यसैले यस विषय माथि काउन्सिलको ध्यानाकर्षण भएको हो । विज्ञप्ति अनुसार , कोरोना महामारीको विषम परिस्थितिमा पनि ज्यानको बाजी लगाएर अग्रपंतिमा रही काम गरेको श्रमजीवी पत्रकारहरुलाई कामबाट बञ्चित नगर्न आग्रह गरेको छ। हटाइएका सञ्चारकर्मीहरुलाई सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गरिने काउन्सिलले जनाएको छ । पत्रकारको समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने भन्दै काउन्सिलले विज्ञप्ति जारी गरेको हो।








































































































