भैरहवा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले ओली सरकार सत्तामा रहदा सम्म उल्लेख्य प्रगति गरेको बताएका छन् ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकार प्रति कटाक्ष गर्दै सरकारले भ्रष्टाचार र बेथितिमा उल्लेख्य प्रगति गरेको बताए ।
उनले बाईडबडी काण्ड, नेपाल ट्रष्टलाई कौडीको भाउमा दिएर, बालुवाटारको जग्गा नै बिक्रि गरेको र मुलुक कोरोना त्रासमा हुदा ओम्नी लगाएर नक्कली औषधी भित्रयाएर ओली सरकारले उल्लेख्य प्रगति गरेका यादवले बताए । उनले पहिलेको शाही परिवार र अहिलेको ओली सरकार दुवै समान भएको बताए । उनले रोयलिष्ट र कम्युनिष्ट एउटै भएको दावी गरे । उनिहरुले पनि संसद बिघटन गरि असंवैधानिक कदम चालेको अहिले कम्युनिष्टहरुले पनि त्यसैको अनुसरण गरेको उनले आरोप लगाए ।
यस्तै जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्यले अहिले ओली सरकारले चालेको कदम संवैधानिक मुद्दा नभई राजनैतिक मुद्दा भएको बताए । राजनैतिक मुद्दा भएको कारण यसलाई राजनैतिक हिसाबले नै समाधान गर्नु पर्ने उनको तर्क रहेको थियो । उनले नेपालीहरु बिच भावनात्मक एकता नभए सम्म मुलुक कुनै पनि हालतमा सुधार हुन नसक्ने जिकिर गर्दै अहिले जनता समाजवादी पार्टी नेपालीहरुको भावनात्मक एकताको प्रयास गर्न र बिभेदलाई समाप्त पार्न शक्ति सञ्चयमा लागेको बताए ।
भैरहवामा भएको पार्टी प्रवेश कार्यक्रममा पूर्व संविधान सभा सदस्य सीमा कौशल एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता रवि कुमार रौनियार लगायत २ सय ६९ जनाले पार्टी प्रवेश गरेको जसपाका केन्द्रिय सदस्य देवेन्द्र पाण्डेले जानकारी दिए । रौनियार केही दिन अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्टि जनाउदै राजीनामा दिएका थिए । यता राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रुपन्देहीले पनि रौनियारले पार्टी नियम विपरीत कार्य गरेको जनाउदै उनलाई पार्टीबाट निस्कासित गरेको जनाएको थियो ।








































































































