Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

गणतन्त्रवादी र राजावादी आमनेसामने, के छ सत्ताधारीको तयारी ?

प्रतिक्षा खबर
२०८१ चैत्र ६, बुधबार २१:१३

काठमाडौँ । वर्तमान व्यवस्थामाथि धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएपछि सत्ताधारी दल र विपक्षी दल एक ठाउँमा उभिने तयारीमा छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए । फागुन २५ गते पोखराबाट काठमाडौँ आएका उनलाई राजावादीहरूले भव्य स्वागतसहित निर्मल निवाससम्म पु¥याएका थिए ।

त्यसअघि सत्ता राजनीतिमा केन्द्रित हुँदै पक्ष र विपक्षमा विभाजित प्रमुख राजनीतिक दलहरू यतिबेला भने प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकजुट देखिएका छन् ।

विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा बृहत् प्रदर्शनको तयारी गरेको छ । मोर्चाले वर्तमान सरकारविरुद्ध चैत २४ गते विरोध प्रदर्शन गर्ने पूर्वतयारीलाई परिमार्जन गर्दै चैत १५ गते प्रतिगमनविरुद्ध हजारौँ मानिस राजधानीमा उतार्ने निधो गरेको हो ।

मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले विरोध सभामा बागमती प्रदेशका १३ जिल्लाबाट पार्टी संगठन, जवस÷मोर्चा, शुभेच्छुक संघसंस्था, शुभचिन्तकलाई उतार्ने तयारी गरेका हुन् ।

‘विरोध प्रदर्शन सशक्त बनाउन हामीले घनिभूत तयारी गरेका छौँ । त्यसका लागि जवस÷मोर्चा र पार्टीको सबै समिति परिचालन गर्ने निर्णय भएको छ,’ माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने ।

देशी विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा जनताले मिल्काइसकेको राजसंस्था फेरि सलबलाउने कोसिसमा रहेकाले सडकबाट सशक्त प्रतिरोध गर्ने उनको भनाइ छ ।

माओवादी अध्यक्ष प्रचण्डले हजारौँ जनताको बलिदानबाट प्राप्त भएको व्यवस्थाको रक्षाका लागि गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई एक हुन अपिल गरेका छन् । मंगलबार राजधानीमा प्रतिरोध दिवसको अवसरमा बोल्दै प्रचण्डले लोकतन्त्र, संविधान र व्यवस्था बचाउनका लागि गणतन्त्र पक्षधर शक्तिहरूले गम्भीर आत्मसमीक्षा गरी एक ठाउँमा आउनुको विकल्प नभएको बताएका थिए ।

पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत पूर्वनिर्धारित बारा, पर्सा र चितवनसम्मको स्थगित जागरण अभियान सम्पन्न गरेर चैत १० गते माओवादीका शीर्ष नेताहरू काठमाडौँ फर्किंदै छन् । राजावादीहरूको सक्रियता बढेपछि अभियान स्थगित गरी प्रचण्डसहितका नेताहरू फागुन २५ गते काठमाडौँ आएका थिए ।

गणतन्त्र पक्षधरबिच राष्ट्रिय सहमति गरेर जाने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच विभिन्न च्यानलमार्फत छलफल भइरहेको एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले रातोपाटीलाई बताए । सोमबार बसेको एमालेको सचिवालय बैठकमा पनि यसबारे समीक्षा भएको उनको जिकिर छ ।

‘सत्तापक्ष र विपक्षी गणतन्त्र पक्षधरबिच सहकार्य गरेर जानेबारे छलफल भएको छ । प्रतिगामी शक्तिविरुद्ध प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरूले आ–आफ्नै ढंगले प्रतिवाद गरिरहेका छन्’, ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले पहिलो चरणमा तीन प्रमुख दलको बैठक बोलाउनु हुन्छ । त्यसपछि गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाउनुहुन्छ । प्रतिगामी राजावादीहरू सातो लिनेगरी अगाडि बढ्छौँ ।’

पूर्वराजा ज्ञानेन्द्र सडकमै उत्रिएर उपद्रो गर्न थालेपछि शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न सरकारसमेत चुप लागेर नबस्ने ज्ञवालीले प्रस्ट पारे । संसदमा पनि सत्तापक्ष र प्रतिपक्ष नभनी सशक्त रूपमा प्रतिवाद हुने उनले बताए ।

यद्यपि सत्ता सहकार्यको विषयमा दलहरूबिच कुनै छलफल नभएको ज्ञवालीले स्पष्ट पारे । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, सरकारले आफ्नै कार्यशैली र व्यवहार सुधार गर्ने तथा व्यवस्था रक्षाको विषयमा दुवैपक्ष एक ठाउँमा आउनेगरी वातावरण तयार भइरहेको उनले दाबी गरे ।

सत्तापक्ष र प्रतिपक्षबिच सहमतिको वातावरण बनाउन चार दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकार अग्नि खरेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।

प्रचण्डको सचिवालयले पनि राष्ट्रिय सङ्कट समाधानका लागि सत्ताधारी दलहरूबिच छलफल भइरहेको स्वीकारेका छन् । तर ओली नेतृत्वको सरकारमा सहभागिताबारे कुनै छलफल नभएको उनका स्वकीय सचिव गोविन्द आचार्यले स्पष्ट पारिसकेका छन् ।

सत्ताघटकको मुख्य दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले व्यवस्थामाथि सङ्कट आएमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । ‘संविधान र कानुन बमोजिम काम गर्ने सरकार हो । उसले चनाखोपूर्वक सबै परिस्थितिलाई मध्यनजर गरेर जान्छ । यदि लोकतन्त्र र व्यवस्थालाई बचाउनका लागि आवश्यक परे कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्छ । यसका लागि हामी गणतन्त्र पक्षधर दलहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ’, उनले भने ।

परियारले पनि सरकार परिवर्तन वा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएको जिकिर गरे । असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई विस्तापित गरी कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि माओवादी लगायत विपक्षी दलहरू सरकारविरुद्ध सदन र सडकमा आक्रामक देखिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २६ गते संसदमा सम्बोधन गर्ने क्रममा सरकार र प्रतिगामी शक्तिविरुद्ध एकसाथ संघर्ष गर्नुपर्ने विशिष्ट परिस्थिति उत्पन्न भएको बताएका थिए । तर राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएसँगै सत्ताधारी र विपक्षी राजनीतिक शक्ति नजिकिँदै गएका छन् ।

  • राजावादी समूह छिन्नभिन्न 

यता प्रमुख प्रतिपक्ष दल माओवादीकै नेतृत्वको विपक्ष गठबन्धनमा आबद्ध राप्रपा सनातन हिन्दु राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन निर्णायक आन्दोलनको तयारीमा छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सशक्त आन्दोलन गर्ने निर्णय ग¥यो ।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनले बताए ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आफ्नै हिसाबले आन्दोलनको तयारी गरेको छ ।

माओवादी, एमाले हुँदै पछिल्लो समय राजतन्त्र फैलाउन कम्मर कसेर लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं राप्रपाबाट राजसंस्था फर्किन सम्भव नभएको भन्दै आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने जिकिर गर्छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापामाथि राजाका नाममा धेरै ठुलो राजनीति गरेको भन्दै आक्रोश पोखे ।

rajabadi

‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय ग¥यौँ । राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय ग¥यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ’, प्रसाईंले भने ।

चैत १५ गते हुने प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने प्रसाईंले चेतावनी दिए । उनले राजासहितको हिन्दु अधिराज्य कायम गर्न राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई आफ्नो नेतृत्वको अभियानमा सामेल हुन आग्रहसमेत गरेका छन् ।

सोमबार पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई लिएर राप्रपाले असन्तुष्टि जनाएको छ । राप्रपा नेपालले सुवेदीको समितिलाई नैतिक समर्थन गरे पनि र राप्रपाले समितिमा बस्न अस्वीकार गरेको छ ।

राजतन्त्र पक्षधर हस्तीहरू लिङ्देन, थापा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री केशरबहादुर विष्टसँग कुनै परामर्श नलिइ जनआन्दोलन समिति गठन गरेपछि उनीहरूले समितिमा बस्न अस्वीकार गरेका छन् । यी सबै परिस्थितिले सुवेदी नेतृत्वको समिति प्रारम्भमै सङ्कटमा परेको छ । राजसंस्था फर्काउन ज्ञानेन्द्रको नजिक बन्ने होडमा राजावादीहरूभित्रै विभाजन आएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।

सत्ताधारी पनि प्रदर्शनको तयारीमा

गणतन्त्रवादी र राजावादी दलहरू सदन र सडकमा आमनेसामने हुने तयारी गरिरहँदा सत्ताधारी कांग्रेस र एमाले पनि जनप्रदर्शनको तयारीमा छन् ।

चैत ४ गते बसेको एमालेको सचिवालय बैठकले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको उक्साहटमा राजावादी सक्रिय भएको निष्कर्ष निकालेको थियो । बैठकले प्रतिगमनविरुद्ध देशभर एकैसाथ सबै वडामा जनपरिचालनको कार्यक्रम ल्याउने निर्णय गरेको एमाले उपाध्यक्ष ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘एमालेले पनि जनपरिचालन सहितको कार्यक्रम गर्ने निर्णय गरेको छ । हामी एकैदिन सबै वडामा एकसाथ जनपरिचालनको कार्यक्रम ल्याउँछौँ । कार्यक्रम बनाउने जिम्मा तल्लो कमिटीलाई दिएको छ । तलबाट प्राप्त सुझावका आधारमा एकैदिन जुरुक्क उठ्नेगरी जनपरिचालनको कार्यक्रम ल्याउँछौँ ।’

बैठकमा जनपक्षीय काम गर्न र विवादास्पद गतिविधि नगर्न प्रधानमन्त्री तथा मन्त्रीहरूलाई पार्टीले सुझाव दिएको ज्ञवालीले जिकिर गरे ।

यस्तै, नेपाली कांग्रेसले राजावादीको सक्रियतालाई लिएर अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नभएको निष्कर्ष निकालेको छ । मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ज्ञानेन्द्रको सक्रियताबारे छलफल भए पनि कुनै निर्णय नगरेको सहमहामन्त्री परियारले जानकारी दिए । यद्यपि यसबारे निर्णय लिन चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाएको उनले बताए ।

‘पूर्वराजाको सक्रियताले अहिले नै आत्तिहाल्नुपर्ने वा तर्सिहाल्नुपर्ने अवस्था छैन । यसबारे पदाधिकारी बैठकमा केही कुरा उठेका छन् । पार्टीले अहिले नै आधिकारिक धारणा तय गरेको छैन । यसबारे थप निर्णय लिन चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सोही दिन हाम्रो आधिकारिक धारणा सार्वजनिक गर्छौँ’, परियारले भने ।

उनले कांग्रेस र एमाले सत्तामा भएकाले जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्ने प्रस्ट पार्दै सोही अनुसार तयारी भइरहेको बताए ।

यदि लोकतन्त्र, संविधान र व्यवस्था संकटमा पर्ने स्थिति आएमा सत्तापक्ष र प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने परियारको भनाइ छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर