गोपाल झा
महोत्तरी, भाद्र १४ गते
दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब मिथिलाञ्चल सहित आज तराई मधेशमा हर्षोल्हासका साथ मनाइँदै छ । आज श्रावणशुक्लपक्ष पूणर्िमा तिथि अर्थात् जनै पूणर्िमा ऋषितर्पणी पनि हो ।
मिथिलाञ्चल सहित तराई मधेश क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दाहिने हातमा रङ्गबिरङ्गी रेशमको डोरी राखी बाँधेर यो पर्व मनाउँछिन् । रक्षाबन्धन गर्नाले दिदीबहिनी र दाजुभाइका बीचमा स्नेह र प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक तथा धार्मीक मान्यता रहि आएको छ । आज दिदी बहिनीहरुले आफ्ना दाजु भाईको हाथमा राखी बाँधेर दिर्घायुको कामना गर्छीन भने दाजुभाईले दिदीबहिनीहरुलाई रक्षगर्नुको सङ्कल्प लिदै गच्छ अनुसार कोसेलीकोरुपमा रुपेया पैसा लत्ताकपडा र सुन सहितको गरगहनाहरु उपहार दिने परम्परा छ ।
आज रक्षाबन्धको दिन प्रायः भाईहरु ससुराली बस्ने दिदी कहाँ गएर राखी बन्हाउने गर्छन भने दिदी बहिनीहरु पनी माईत आएर भाईहरुलाई राखी बाँध्ने गर्छीन ।
सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूणर् मिथिला नै आज राखीमय बनेको छ । आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी) को भिड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।
मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषि र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूणर् मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ ।
राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका छन् । पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारुपमा मनाउन थालेका स्थानियहरु बताउछन् ।
धार्मीक ग्रन्थ पुराणका अनुसार असुरराज दानवीर राजा बलीले देवताहरुलाई युद्धमा परास्त गरेपछी स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकार समाप्तगर्न भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिई ब्राम्हण भेषमा राजा बली कहा भिक्षा मागे ।
राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राम्हणरुपी भगवान बिष्णुले राजा बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राम्हणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुणर् आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भईन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताए अनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर बिष्णुलोक आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।
आज वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूणर्िमा भएकाले दिन शुभ मानिन्छ ।
त्यस्तै अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।







