गोपाल झा
महोत्तरी ,मंसिर १४ गते
महोत्तरीको बिभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न रहेको गिरोहका चार जना भारतीय नागरीक सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत विहारको सितामढी जिल्ला बेलाथाना ग्राम पञ्चायत शिवनगर-१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्दै आएको ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह,त्यस्तै सितामढी जानकीनगर घर भई गौशाला-५ महलिया टोल बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली रहेका छन् ।
यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव पनि पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।
डीएसपी जयसवारका अनुसार पक्राउ परेकाहरू विभिन्न समय र स्थानमा हातहतियार देखाएर लुटपाट गरेको घटनामा संलग्न रहेको पाइएको छ ।
महोत्तरीको औरही नगरपालिका-६ स्थित संजय कुमार यादव, गौशाला नगरपालिका-२ निगौल स्थित पुनम देवी, गौशाला नगरपालिका-१० जलिल टोल अपसना खातुन र राम बालक राउत कुर्मी, गौशाला नगरपालिका-४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरूले चोरी तथा लुटपाट गरेको खुलेको डीएसपी जयसवारले बताए ।
उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरीएको हातहतियार समेत फेला परेको छ । म्यागजिन सहितको पेस्तोल दुईथान, नलकटुवा बनदुक १ थान, म्याग्जिनमा लोड रहेको गोली ५ राउण्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डीएसपी जयसवारले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।






