Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ओली सरकारविरुद्ध मोर्चाबन्दीको तयारीमा विपक्षी दलहरू, जसपा नेपालको अब्जेक्सन

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार १०:०९

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारविरुद्ध मोर्चाबन्दी बनाउने विषयमा विपक्षी दलहरू आन्तरिक गृहकार्यमा लागेका छन् । असार १७ गते संविधान संशोधनसहित ७ बुँदे सहमति गरेको सत्ता गठबन्धन विपक्षीलाई पेलेर जाने योजनासाथ अगाडि बढेको भन्दै उनीहरूले मोर्चाबन्दीको प्रयास सुरु गरेका हुन् ।

सरकारको प्रारम्भिक रूझान भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्ने, संविधान संशोधनमार्फत प्रतिगमन लाद्ने खालको निष्कर्ष प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको रहेको छ । पार्टी निर्माण र पछिल्लो राजनीतिक अवस्थाबारे आन्तरिक बैठकमा गम्भीर छलफल गरेको माओवादी केपी ओली सरकारको १ सय दिनको काम हेरेर प्रतिरोधको कार्यक्रम ल्याउने तयारीमा छ । कात्तिकको पहिलो हप्ता वर्तमान सरकार गठन भएको सय दिन पुग्दै छ ।

मोर्चाबन्दीको तयारीमा माओवादी र एकीकृत समाजवादी
ओली सरकार सुशासन कायम गर्नेभन्दा पनि अघिल्लो सरकारले ल्याएको भ्रष्टाचारविरूद्धको अभियानलाई बिथोल्न उद्धत रहेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आरोप लगाए । माओवादीले दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकले विचार मिल्ने दलहरूसँग एकता र बृहत् वामपन्थी ध्रुवीकरणसहित सरकारविरुद्ध सदन र सडकबाट सशक्त प्रतिरोधको कार्यक्रम ल्याउने योजना सापकोटाले सुनाए ।

‘अहिले  हामी अध्ययन मात्र गरिरहेका छौँ । सय दिनपछि सूक्ष्म ढंगले त्यसको निचोड निकालेर अगाडि बढ्छौँ । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको सवालमा अहिले जुन परिस्थिति निर्माण भएको छ, त्यो चुनौतीको सामना गर्न सय दिनपछि पार्टीले सरकारविरुद्ध सदन र सडक मोर्चालाई सशक्त बनाउन विशेष कार्यक्रम ल्याउनेछ,’ रातोपाटीसँग सापकोटाले भने ।

सरकारको अहिलेसम्मको गतिविधि हेर्दा प्रतिगमनतर्फ अघि बढिरहेको देखिएको उनले विश्लेषण सुनाए । सापकोटाले सरकार भ्रष्टाचार लगायतका फाइल खोल्नभन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्नेतिर लागेको आरोप लगाए ।

सत्ताच्यूत भएसँगै माओवादीले पदाधिकारी, स्थायी समिति बैठक बसेर गम्भीर छलफल गरेको थियो । भर्खर प्रदेशस्तरीय परामर्श समिति बैठक सम्पन्न गरेको उसले समाजवादी मोर्चाका साथै मित्र शक्तिहरूलाई गोलबन्द बनाउने रणनीतिमा रहेको छ । सत्ता बाहिर रहेको विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीबाट चोइटिएको महिन्द्र राय यादव समूहसँग तत्काल एकता गर्ने तयारीमा छ । एकीकृत समाजवादी लगायत अन्य वामपन्थी शक्तिसँग वृहत् ध्रुवीकरण गरी सरकारविरुद्ध मोर्चाबन्दी बनाएर जाने सहमति गरेको छ ।

ओली सरकारबारे एकीकृत समाजवादी पर्ख र हेरको रणनीतिमा देखिन्छ । असारको दोस्रो साता सम्पन्न १० औँ महाधिवेशनबाट अध्यक्ष माधव नेपालको नेतृत्वमा नयाँ टिम बनिसकेको छ । नेताहरूको कार्यविभाजन भएपछि बृहत् वामपन्थी गठबन्धन बनाएर सरकारविरुद्ध सशक्त उत्रिने तयारीमा देखिन्छ । एकीकृत समाजवादी पहिले नै समाजवादी मोर्चामा रहेको छ । मोर्चामार्फत सातै प्रदेशमा जनपरिचालनका कार्यक्रम बनाउने गरी छलफल भइरहेको छ ।

अहिले सम्मका ठुल्ठुला काण्डमा बूढानीलकण्ठ र बालकोट मिसिएकाले त्यसलाई जोगाउन कांग्रेस र एमाले प्रयत्नशील रहेको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले आरोप लगाए ।

‘रास्वपासँग मात्र जोडिएको केस हेरेर आहा भन्ने ठाउँ छैन । गिरिबन्दु टी–स्टेट, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, ओम्नी, यति काण्ड, राजश्व छली काण्डमा सरकारले एकै खालका व्यवहार देखाएमा त्यतिबेला विश्वास गर्न सकिन्छ । आज पक्रिएको जस्तो गर्ने, भोलि सौदाबाजी गर्ने प्रकृतिमा गयो भने त्यसले फेरी जनतालाई निराश बनाउँछ,’ उनले भने ।

ठुला दुई दल कांग्रेस र एमालेले देशमा प्रतिपक्षविहीन बनाइएको भन्दै  त्यसले सर्वसत्तावाद लागु हुने उनको निष्कर्ष छ । त्यतिबेला सरकारविरुद्ध विपक्षी दलहरुबिच मोर्चाबन्दी हुनु स्वाभाविक भएको बताए ।

‘सशक्त प्रतिपक्ष बन्न कांग्रेस र एमालेमध्ये एक दल सत्ताबाहिर बस्नुपर्थ्यो । लोकतन्त्रको मूलभूत मान्यता र संस्कृतिलाई बिगारेर उहाँहरू हिँड्नुभएको छ,’ खतिवडाले भने, ‘भ्रष्टाचारविरुद्धको लडाइँ आफ्नै पार्टीभित्रको लडाइँ पनि हो । भ्रष्टहरू पार्टीभित्र, बाहिर, कर्मचारीतन्त्र, सेना, प्रहरीमा पनि छन् । तीविरुद्ध लड्नु चानचुने कुरा छैन । आफ्नै साथीभाइ र नजिक भएकासँग लड्ने कुरा हो । यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्ष लाग्ने, मोर्चाबन्दी गर्ने स्वाभाविक छ ।’

सहकारी बचत रकम अपचलन गरेको आरोपमा आफ्नै सभापतिमाथि सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने देखिएपछि संसद्मा चौथो ठुलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) त्रसित देखिएको छ । सहकारीको रकम अपचलनमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सरकारले आइतबार पक्राउ गरेपछि सभापति लामिछानेसहित ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी कार्यालय वनस्थलीमा भेला भएका थिए ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई प्रत्यक्ष रूपमा दोषी ठहर नगरे पनि कारबाही प्रक्रिया अगाडि बढ्ने गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो । मुख्य दोषी गोरखा मिडिया प्रालिका सञ्चालक जीबी राई हालसम्म फरार छन् ।

जोशीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन कास्की जिल्ला अदालतको आदेशमा हिरासतमा राखिएको छ । नेता तथा कार्यकर्तालाई अलर्ट बस्न निर्देशन दिएका लामिछानेले चीन भ्रमणका गएका उच्च नेताहरूलाई समेत फिर्ता बोलाइसकेका छन् ।

आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफलमा रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘हामी अहिले आन्तरिक बैठकमा छौँ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सवालमा बैठकले निर्णय गर्नेछ,’ उनले भने ।

सरकारविरुद्ध संसद्मा माओवादी लगायत अन्य विपक्षी दलहरूसँग सहकार्य हुन सक्ने रास्वपाका नेताहरूले सङ्केत दिएका छन् ।

सरकारको समर्थनमा जसपा नेपाल

यता माओवादी शान्ति प्रक्रियामा आएपछि १८ वर्षसम्म प्रचण्डलाई साथ दिएको उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)ले सरकारविरुद्ध तत्काल मोर्चाबन्दी नहुने स्पष्ट पारेको छ । भ्रष्टाचार लगायत बेथितिविरुद्ध जसपा नेपालसहित ठुला दल कांग्रेस, एमाले, माओवादीकै उच्च नेता सहभागी भए पनि कारबाही हुनुपर्ने अडानमा छ ।

सहकारी बचत अपचलनविरुद्ध सरकारको पछिल्लो कार्यबाट जनतामा आशा जाग्ने काम भएको नेता मनिष सुमनको बुझाइ छ ।  ‘सहकारी छानबिन समितिको प्रतिवेदन पाएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । केहीलाई प्रहरीले समातेको छ । राज्य सबैको हो । कसैप्रति आग्रह र पूर्वाग्रह हुनुहुँदैन । यस्तो अवस्थामा कांग्रेस, एमाले वा जसपा नेपालकै ठुला नेता मुछिएका छन् भने पनि छोड्नु हुँदैन । ती अपराधीहरूलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘जहाँसम्म गठबन्धन दल कांग्रेस र एमालेले संविधान संशोधनको अमूर्त ७ बुँदे सहमति गरेको छ । त्यसको ठोस प्रस्ताव नआएसम्म हामी अगाडि बढ्दैनौँ । त्यसैले यथास्थितिमा अहिले कुनै मार्चाबन्दीको आवश्यकता छैन ।’

देशको सबैभन्दा ठुलो समस्या अस्थिर सरकार भएको भन्दै सुमनले यस्तो परिस्थितिमा अहिलेको सरकार नै दीर्घकालसम्म जानुपर्नेमा जोड दिए । संविधान संशोधन गर्ने हो भने सरकारले तुरुन्त विपक्षी दलहरूसँग छलफल गर्नुपर्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जसपा नेपाल विभाजन भएपछि सत्तापक्षको कित्तामा उभिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर