इरानले हमासका नेता इस्माइल हनियेको हत्या भएको दाबी गरेको छ।
इरानी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागको शीर्षमध्येका नेता हानियेको हत्या भएको हो।
इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन।
हानिये कतारको राजधानी दोहामा बस्दै आएका थिए।
इरानको रिभोलुसनरी गार्डका अनुसार हानियेसँगै उनको सुरक्षामा खटिएका व्यक्तिको पनि हत्या भएको छ। उनीहरूले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमहरूले हानिये मारिएको बताएका छन्। गत चैतमा मात्रै इजराइलको मिसाइल हमलामा परी हानियेका तीन छोरा मारिएका थिए।
हानियेको हत्या इजराइलले गराएको दाबी गरेपनि इजराइलले यसबारेमा कुनैपनि प्रतिक्रिया दिएको छैन।
यद्यपि, अक्टोबर ७ मा हमासले इजराइलमा गरेको आक्रमणपछि इजराइलले हमासका सम्पूर्ण नेता र लडाकुहरूलाई मार्ने वाचा गरेको थियो।
त्यतिबेला हमासको आक्रमणमा नेपालका दस जनासहित १ हजार २ सय जनाको मृत्यु भएको थियो भने विपिन जोशीसहित २४० जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो।
त्यसयता इजराइलले गजामा लगातार आक्रमण गर्दै आइरहेको छ।
इजराइलको आक्रमणमा परी हालसम्म ३९ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १ लाख मानिसहरू घाइते छन्।