रामगाेपालपुर। मधेश प्रदेशको राजनीतिमा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवको चर्चा पुनः चुलिएको छ। महोत्तरी क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य समेत रहेका यादवलाई आगामी मुख्यमन्त्रीको रूपमा हेर्न थालिएको हो।
आफ्नो विगतको कार्यकालमा महोत्तरी क्षेत्र नम्बर ४ लगायत सम्पूर्ण मधेश प्रदेशमा पुर्याएको योगदान र तीव्र विकास निर्माणका कार्यहरूका कारण उनको पक्षमा जनअपेक्षा र राजनीतिक वृत्तमा चर्चा बढेको बुझिएको छ। आम नागरिकहरूमाझ उनी एक सफल, दूरदर्शी र ‘विकासप्रेमी युवा नेता’ को रूपमा निकै चर्चित र लोकप्रिय छन्।
स्थानीयस्तरमा सडक, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा उनले गरेका कामहरूको सर्वसाधारणले प्रशंसा गर्दै आएका छन्। मधेश प्रदेशको समग्र समृद्धि र राजनीतिक स्थिरताका लागि उनको नेतृत्व अपरिहार्य रहेको भन्दै नेता तथा कार्यकर्ताहरूले उनलाई पुनः मुख्यमन्त्रीको रूपमा अघि सार्नुपर्ने आवाज उठाउन थालेका छन्। राजनीतिक समीकरण र जनचाहना दुवै अनुकूल बन्दै गएकाले सरोज कुमार यादवको मुख्यमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।







