
जनकपुरधाम, चैत ३१ । जनमत पार्टीले आफनै नेतृत्वको मधेश प्रदेश सरकारविरुद्ध आज जनकपुरधाममा प्रदर्शन गरेको छ । धनुषा क्षेत्र नं. ३का जनमत पार्टीका नेताकार्यकर्ताहरुले सरकार र सरकारका मन्त्रीविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नारावाजी गरेका हुन ।
मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार रहेपनि नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका छन् ।
योजना खरिद–बिक्रीका सन्दर्भमा छानबिनका साथै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एउटा पनि योजना नदिएको भन्दै पुरक परियोजनाबाट बजेट विनियोजन गर्न माग गर्दै प्रर्दशन गरेको पार्टीका नेता डा. प्रशन्नकुमार झाले बताए ।



प्रर्दशनमा सहभागीहरूले ’भ्रष्ट मन्त्रीलाई कारबाही गर’, ’योजना खरिद–बिक्री गर्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । सो ज्ञापनपत्रमा जनकपुरधामको सार्वजनिक सम्पत्ति संरक्षण गर्दै अतिक्रमण हटाउन समेत माग गरेको छ ।






































































































