Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मधेस केन्द्रित दल : तराई कांग्रेसदेखि जनमत पार्टीसम्म विभाजनको शृङ्खला

प्रतिक्षा खबर
२०८२ कार्तिक ६, बिहीबार १८:५८

काठमाडौँ । मधेस केन्द्रित पार्टी निर्माण र विभाजन नौलो कुरा रहेन । किनकि यो शृंखला लामो समयदेखि चलिरहेको छ । वैकल्पिक शक्ति दाबी गरेर उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी समेत यसबाट मुक्त रहन सकेन । तराई कांग्रेस, नेपाल सद्भावना पार्टीदेखि मधेसी जनअधिकार फोरम नेपाल हुँदै जनमत पार्टीसम्म विभाजन हुँदा मधेस केन्द्रित दलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

जनमत पार्टी विभाजन भएर भर्खरै निर्वाचन आयोगमा जनस्वराज पार्टी गठन भएको छ । जनमतमा उपाध्यक्ष रहेका दीपक साहको नेतृत्वमा असोज २७ गते यो पार्टी दर्ताका लागि निवेदन दिइएको छ ।  पार्टी विभाजन अवैधानिक रहेको भन्दै जनमत पार्टीका अध्यक्ष डा. राउतले सर्वोच्च अदालतमा रिट हालेका छन् । अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

रञ्जिता श्रेष्ठ अध्यक्ष र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि विभाजन भएको छ । नाउपाबाट रेशम चौधरीसहितका नेताहरु अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता का लागि निवेदन दिएका छन् ।

२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि विभाजन भयो । त्यसबाट अलग भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भयो । पार्टी विभाजन विरुद्ध यादवले पनि त्यसबेला सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले अल्पकालीन आदेश गरेको थियो । मुद्दा अझै विचाराधीन छ ।

२००८ सालमा गठन भएको तराई कांग्रेसदेखि सुरु भएको विभाजनको शृङ्खला नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै जनमत र नाउपासम्म पुगेको छ ।

  • सद्भावना पार्टी विभाजनको शृङ्खला

गजेन्द्रनारायण सिंहले २०४० सालमा गठन गरेको नेपाल सद्भावना परिषद्बाट नै मधेसमा मधेस केन्द्रित राजनीतिक गतिविधि सुरु भएको थियो । २००८ सालमै मधेसको मुद्दा र अधिकारको विषयलाई लिएर वेदानन्द झा, कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्रलगायतले तराई कांग्रेस गठन गरेका थिए । यद्यपि नेपाल सद्भावना पार्टीको स्थापनापछि मधेसका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि हुन थालेको हो ।

तराई कांग्रेसका अध्यक्ष वेदानन्द झा आफ्नो समूह लिएर राजासँग मिले भने तत्कालीन महासचिव रामजनम तिवारीको समूह नेपाली कांग्रेसमा विलय भयो । नेपाल सद्भावना पार्टी गठन तीन वर्ष नपुग्दै २०५० सालमा रामेश्वर राय यादव, हृदयेश त्रिपाठी लगायतले विभाजन गरेर समाजवादी जनता दल खोले । पछि उनीहरु फेरि एकतामै आएका थिए ।

गजेन्द्रनारायण सिंहको निधन भएपछि २०६० सालमा पार्टीको महाधिवेशनबाटै नेपाल सद्भावना पार्टी विभाजन हुन पुग्यो । त्यतिबेला नेपाल सद्भावना पार्टीको नेतृत्व बद्री मण्डलले गरेका थिए भने विभाजन भएको नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को नेतृत्व आनन्दी देवीले गरेकी थिइन् ।

२०६२/६३ को जनआन्दोलनमा नेपाल सद्भावना पार्टी (आनन्दी) तत्कालीन सात दलीय गठबन्धनमा सहभागी भएको थियो । जनआन्दोलन सफल भएपछि बनेको सरकारका लागि पुनः पार्टीमा किचलो सुरु भयो । कहिले आनन्दीदेवीलाई प्रयोग गरेर राजेन्द्र महतो मन्त्री भए त कहिले श्यामसुन्दर गुप्ता मन्त्री भए । कहिले हृदयेश त्रिपाठी त कहिले सरिता गिरी मन्त्री बने । त्यसबेला आनन्दी देवीलाई जसले आफ्नो पक्षमा पार्न सक्थे, उही मन्त्री बन्थ्यो ।

त्यसबेला नेपाल सद्भावना पार्टीको लहान, जनकपुर र वीरगञ्जमा एकैसाथ महाधिवेशन भएको थियो । वीरगञ्जबाट श्यामसुन्दर गुप्ताले पार्टी कब्जा गरे भने लहानबाट सरिता गिरी र जनकपुरबाट खुसीलाल मण्डलले पार्टी कब्जा गरे ।

आधिकारिक रुपमा पार्टी कसको हो भन्ने टुंगो थिएन । तीनै पक्षले दाबी गरेका थिए । त्यसपछि पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । अदालतमा लामो समयसम्म मुद्दा चलेपछि श्यामसुन्दुर गुप्ताले नेपाल सद्भावना पार्टी (युनाटेड) गठन गरेर छुट्टै बसे । यता खुसीलाल र सरिताबिचमा मुद्दा चलिरह्यो । निकै पछि सरिता गिरीले मुद्दा जितिन् ।

नेपाल सद्भावना पार्टीको वीरगञ्जमा महाधिवेशन हुँदा श्यामसुन्दर गुप्ताले पार्टी कब्जा गरेपछि राजेन्द्र महतो अलग भएर २०६४ सालमा सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीबाट अनिल झा अलग भएर २०६८ मा संघीय सद्भावना पार्टी गठन गरेका थिए । सोही वर्ष रामनरेश राय पनि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट अलग भएर राष्ट्रिय सद्भावना पार्टी गठन गरेका थिए । तर उनले लामो समय पार्टी चलाउन सकेनन् र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालसँग एकीकरण गरी तराई मधेस सद्भावना पार्टी बनाएका थिए ।

सरिता गिरीले नेपाल सद्भावना पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा विलय गराइन् । उनी उक्त पार्टीबाट समानुपातिक सांसद भएकी थिइन्, तर चुच्चे नक्साको विवादमा उनी सांसद पदबाट निलम्बनमा परिन् । त्यसबेला उनीसँग कुनै पार्टी रहेन ।

नेपाल सद्भावना पार्टी रामकुमार महतोले आफ्नो नाममा दर्ता गराएका थिए । पछि महतोले लोसपामा रहेका अनिल झालाई नेपाल सद्भावना पार्टीको नेतृत्व सुम्पिए । झाले अहिले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् । सरिता गिरीलाई पनि सोही पार्टीमा राखिएको छ ।

  • संविधानसभामा चौथो ठुलो दल बनेर उदाएको फोरम विभाजनको शृङ्खला 

नेपाल सद्भावना पार्टी (आनन्दी देवी) जनआन्दोलन लगायत मधेस आन्दोलनमा सक्रिय भइरहेकै थियो । तर त्यहीबिच उपेन्द्र यादव मधेसी जनअधिकार फोरम नेपाल लिएर मधेसको राजनीतिमा उदाए । २०६३ सालमा भएको पहिलो मधेस आन्दोलनमा फोरमले नेतृत्वदायी भूमिका निभायो ।

मधेस आन्दोलनकै क्रममा भाग्यनाथ गुप्ता, रामकुमार शर्मा, जितेन्द्र सोनल लगायत नेताहरु उपेन्द्र यादवबाट अलग भएर मधेसी जनअधिकार फोरम मधेस गठन गरेका थिए । त्यो फुटले फोरम नेपाललाई खासै फरक परेको थिएन ।

त्यसपछि २०६४ सालमै गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको साथमा लिएर फोरम दोस्रो चरणको मधेस आन्दोलनमा गएको थियो । पहिलो संविधानसभाबाट फोरम मधेसको मुख्य शक्तिका रुपमा उदाउँदै देशकै चौथो ठुलो पार्टी बन्न सफल भयो ।

तर त्यो शक्ति लामो समय टिकेन । २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि अर्को प्रधानमन्त्री बनाउन पार्टीभित्र लफडा भएको थियो । उपेन्द्र यादव र विजयकुमार गच्छदार दुवै जनाले सरकारमा जाने अडान लिए । कुरा नमिलेपछि विजयकुमार गच्छदारले २०६६ मा पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।

त्यसअघि नै सरकारको विषयलाई लिएर अमर यादव फोरमबाट अलग भएर मधेस तराई फोरम गठन गरेका थिए । तर अमर यादव सांसद नभएकाले फोरमलाई खासै असर पारेन । तर गच्छदार अलग भएपछि यादवलाई ठुलै धक्का लागेको थियो । जयप्रकाश गुप्ता बाहेक अन्य सबै शीर्ष नेता गच्छदारको साथमा लागे । त्यसले उपेन्द्र यादवलाई निकै कमजोर बनायो ।

माओवादीका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण हुन लाग्दा सरकारमा जाने विषयलाई लिएर फेरि विवाद भयो । जेपी गुप्ता उपेन्द्र यादवको साथ छाडेर २०६८ मा मधेसी जनअधिकार फोरम (गणतन्त्रिक) गठन गरी मन्त्री बन्न पुगे ।

यस्तै टुटफुटका कारण २०७० सालको चुनावमा नराम्रो नतिजा आयो । २०७२ सालमा उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाए । पछि उक्त पार्टीबाट मोहम्मद रिजवान अन्सारी लगायत नेताहरु अलग भएर नेपाल संघीय समाजवादी पार्टी गठन गरेका थिए । रिजवान अलग भएपछि पनि उपेन्द्र यादवलाई कुनै असर गरेको थिएन, किनकि उनी सांसद थिएनन् ।

त्यसपछि उपेन्द्र यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग २०७६ सालमा एकीकरण गरेर समाजवादी पार्टी बनाए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच २०७७ सालमा एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल बन्यो ।

तर त्यो पार्टी एक वर्ष पनि चल्न सकेन । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले त्यहाँबाट अलग भएर २०७८ भदौमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे । त्यसको केही समयपछि डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव लगायत नेताहरुले पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरे । जसपा नेपालबाट भट्टराई निस्केको एक वर्ष नबित्दै २०८१ वैशाखमा अशोक राई पनि त्यहाँबाट अलग भएर जनता समाजवादी पार्टी बनाए ।

  • तमलोपा विभाजनको शृङ्खला 

कांग्रेसबाट विद्रोह गरेर २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका महन्थ ठाकुरको नेतृत्वको पार्टी पनि एक रहन सकेन । २०६७ सालमा महिन्द्र राय यादव अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए । पछि तमलोपा नेपाल राष्ट्रिय सद्भावना पार्टीसँग एकीकरण भयो र पार्टीको नाम तराई मधेस सद्भावना पार्टी राखियो ।

महन्थ ठाकुरको तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राजेन्द्र महतोको सद्भावना पार्टी र महिन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टीबिच २०७४ मा एकीकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो ।

अध्यक्षात्मक प्रणालीको उक्त पार्टी ठिकठाक चलिरहेको थिएन । राजपा नेपालबाट हृदयेश त्रिपाठी अलग भएर अर्को समूह बनाएर राजनीतिमा थिए । पछि उनले जनता प्रगतिशील पार्टी बनाए ।

त्यसपछि राजपा नेपालबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपालाई पुनर्गठन गरी छुट्टै पार्टी सञ्चालन गरे । त्यही बेला उपेन्द्र यादवको तत्कालीन समाजवादी पार्टीले एकताको हात अगाडि बढाएपछि राजपा नेपाल र समाजवादी पार्टीबिच एकता भएर जसपा नेपाल बनेको थियो । जो पछि विभाजन भएर लोसपा बनेको थियो ।

उता जेलमा रहेका लोसपा नेपालका नेता रेशम चौधरीले आफू संरक्षक रहेर आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । त्यस्तै लोसपा नेपालबाट नै अलग भएर राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी बनाए । अनिल झाले लोसपा नेपालबाट अलग भएर नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरे ।

  • फोरम लोकतान्त्रिक फुटको शृङ्खला  

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६६ सालमा अलग भएर विजयकुमार गच्छदारले मधेसी ननअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । तर त्यो पनि सग्लो रहन सकेन । त्यो पार्टीबाट शरतसिंह भण्डारी अलग भएर । केही समय तराई मधेस अभियान चलाएका भण्डारीले पछि राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका थिए । पछि भण्डारीको दल राजपा नेपालमा एकीकरण भयो । उनी हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष छन् ।

गच्छदारको पार्टी भण्डारीले मात्र होइन, सञ्जय साह (टकला)ले पनि विभाजन गरे २०६७ सालमा मधेस क्रान्ति फोरम बनाएका थिए । यसरी एकपछि अर्को नेताले साथ छाड्दै गएपछि गच्छदार मधेसको राजनीति छाडेर आफ्नो पूर्व पार्टी कांग्रेसमै पुगे ।

यसरी तराई मधेस केन्द्रित हरेक पार्टी फुटबाट टाढा रहन सकेका छैनन् । फुटको शृंखला अझै कति चल्ने हो भन्न सकिने अवस्था छैन ।

लोसपा उपाध्यक्ष लक्ष्मणलाल कर्ण पार्टी विभाजनमा आफूहरुको गल्ती भएपनि सरकारले मुख्य भूमिका खेलेको बताउँछन् ।

‘यदि सरकारले चाहेन भने कुनै पनि पार्टी विभाजन हुँदैन । पार्टी विभाजनका लागि एउटा निवेदन लिएर निर्वाचन आयोग जानुस्, सबै मिलाएर पार्टी अलग गरेर पठाइदिन्छन्,’ उनी भन्छन्, ‘बरु नियम कानुन मिलेन भने विभाजित दलहरु सर्वोच्चमा मुद्दा हाल्न जान्छन् । तर वर्षौंसम्म फैसला नै आउँदैन ।‘

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि पार्टी विभाजनमा सरकारको नेतृत्वमा बस्नेहरुकै मुख्य भूमिका रहेको टिप्पणी गर्छन् । आफ्नो पार्टी विभाजन हुनुमा उनी निर्वाचन आयोगलाई पनि दोषी देख्छन् । कानुन अनुसार नमिले पनि शक्ति केन्द्रको दबाबमा पार्टी विभाजन गरिएको उनको आरोप छ ।

तर जनमत पार्टीबाट अलग भएर जनस्वराज पार्टी गठन गरेका दीपक साह भन्छन्, ‘पार्टी अध्यक्षको निरकुंश शैलीका कारण पार्टी विभाजन हुने गरेको हो । पार्टी बनाउन सबैको खुन पसिना बगेको हुन्छ, तर पार्टीका अध्यक्षहरु खल्तीबाट नै पार्टी सञ्चालन गर्न खोज्दा विवाद हुन्छ र त्यो विभाजनसम्म पुग्छ ।सभार राताेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर