सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ।
जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ। उक्त गुनासोको आधारमा कारण स्पष्ट पार्दै चित्तबुझ्दो जवाफ दिन अल्टिमेटम दिइएको जनाइएको छ।
पत्रमा तोकिएको समयावधिभित्र जवाफ नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। पार्टी अनुशासन र निर्णयको पालना गर्नुपर्ने दायित्व निर्वाचित जनप्रतिनिधिमा अझ बढी रहने उल्लेख गर्दै जिल्ला कार्यसमितिले संगठनको हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।
स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूमा गोडैता नगरपालिका–५ का वडा अध्यक्ष श्री प्रकाश गुप्ता, चक्रघट्टा गाउँपालिका–३ का वडा अध्यक्ष श्री दिनेश साह, बरहथवा नगरपालिका–१७ का वडा अध्यक्ष श्री राम विश्वास राय, हरिपुर्वा नगरपालिका–८ का वडा अध्यक्ष श्री रामेश्वर राय तथा हरिपुर्वा नगरपालिका–९ का वडा अध्यक्ष श्री सुरेन्द्र महतो रहेका छन्।
जसपा नेपाल सर्लाहीका पदाधिकारीका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि भएको पुष्टि भएमा अनुशासन समितिको सिफारिसमा थप कदम चालिनेछ। जिल्लास्तरमा यस घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।









































































































