प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा एक कार्यक्रमका बिच दुई महत्वपूर्ण पूर्वाधार परियोजनाको उद्घाटन गरेका हुन् । मटिहानी–८ मा अवस्थित विग्ही नदीमा निर्माण गरिएको ५० मिटर लम्बाइको पुल र वडा नं ६ मा निर्माण गरिएको प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्रीले मधेसको समग्र विकासमा संघीय सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई सुक्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताउनुभएको छ ।
संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको पुल प्रधानमन्त्री ओलीको हातबाट उद्घाटन गरिएको हो । मटिहानी नगरपालिकाका इन्जिनियर विमलेश साहका अनुसार पुल निर्माणमा ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँ खर्च भएको छ ।
पुलको निर्माणसँगै मटिहानी–जनकपुर सडक सञ्जाल थप सुदृढ भएको र स्थानीय बासिन्दाको आवागमनमा सहजता आएको बताइएको छ । यस पुलले कृषि उत्पादनको बजार पहुँचलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।
पुलको उद्घाटनपछी प्रधानमन्त्री ओलीले मटिहानी–६ मा निर्माण गरिएको अत्याधुनिक प्रसूति गृहको पनि आजै एक कार्यक्रमकाबिच उद्घाटन गरे । उक्त भवन संघीय सरकारको विशेष अनुदान र मटिहानी नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो । भवन उद्घाटन पश्चात आयोजित कार्यक्रको सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार विकास योजनाले देशको आर्थिक गतिमा उत्साहजनक सुधार ल्याएको बताए । विगतका ३/४ वर्षमा ओरालो लागेको अर्थतन्त्र पछिल्लो एक वर्षमा स्थिर हुँदै सुधारको बाटोमा लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिले वर्ष दिनमा जम्मा ९/१० वटा पुल र सडक बनिन्थ्यो, तर गत आर्थिक वर्षमा मात्रै ९५० वटा पुल निर्माण भएका छन् भने जिल्लाहरू सडक सञ्जालले जोडिएका छन् । उनले पछिल्ला वर्षहरूमा सरकारले १५ हजार किलोमिटर सडक कालोपत्रे गरिसकेको जानकारी पनि दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई सुक्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताउनुभएको छ । उहाँले यस क्षेत्रमा खानेपानी, सिँचाइको अभाव रहेको हामीले प्रत्यक्ष रुपमा महसुस गर्न पाएको उल्लेख गर्नुहुँदै अहिले मधेश प्रदेशमा दुःखको समय रहेको बताउनुभयो । सर्लाहीबाट नै जमिनको नजिकैबाट हेलिकप्टर उडाएर प्रत्यक्ष रुपमा सुक्खाको अवस्था अवलोकन गरेको बताउनुहुँदै प्रधानमन्त्री आली भन्नुभयो, “हेर्दाहेर्दे आयौँ, जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ ।” खानेपानी, सिँचाइको समस्या, अनावृष्टिको कारण उत्पन्न समस्या प्रत्यक्ष देखेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
खानेपानी अभाव, सिँचाइ अभाव तथा सुक्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउनुहुँदै उहाँले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिनुभयो । अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउनुहुँदै एउटा बोरिङबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताउनुभयो । यसबाट तत्कालको लागि केहीहदसम्म सिँचाइको समस्या कम हुने ठम्याइ प्रधानमन्त्री ओलीको थियो । उहाँले मधेशको पूर्वको सप्तरीमा कोशी नदीको कारणले सुक्खाको केही कम समस्या देखिए पनि बाँकी सात जिल्लाको अवस्था बढी समस्याग्रस्त रहेको बताउनुभयो । दीर्घकालीन रुपमा सुक्खाग्रस्तबाट मधेशलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरु बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल नजाने कुराका लागि अनुकूल वातावरणतर्फ फर्काउने काम हामीले गर्ने उहाँले आश्वासन दिनुभयो । उहाँले मधेशलाई सुक्खाग्रस्तबाट बचाउन सरकारका सबै अंग र निकायका साथसाथै गैरसरकारी सङ्घसस्थालाई समेत साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा मटीहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कुल १ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको उक्त प्रसूति गृहले मटिहानी क्षेत्रमा सुरक्षित मातृत्व सेवामा महत्वपूर्ण योगदान पुर्याउने आसा ब्यक्त गरेका छन् । नगरप्रमुख मण्डलका अनुसार, बर्थिङ्ग सेन्टरमा मासिक १५ देखि २० जना महिलाको सुरक्षित प्रसूति गराइँदै आएको छ । पहिले जटिल प्रसूति केसहरूमा निजी नर्सिङ होममा रिफर गर्नुपर्ने बाध्यताको कारण आर्थिक भार पर्ने हुँदा स्थानीयस्तरमै अत्याधुनिक सुविधा सहितको प्रसूति गृह आवश्यक ठानिएको थियो ।
कार्यक्रममा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले संविधान संशोधन गर्न तथा मधेश र थरुहट क्षेत्रका नेतामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन आग्रह गर्नुभयो । कार्यक्रममा सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाले मन्तव्य राख्नुभएको थियो । प्रसूति गृहको उद्घाटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली मटिहानीस्थित देशकै पहिलो विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षणसमेत गर्नुभएको थियो ।









































































































