गोपाल झा
महोत्तरी, साउन ८ गते
महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिकाले किसानको पीडा बुझ्दै चालु आर्थिक वर्षका लागि पालिकाभित्रका सबै किसानलाई मालपोत करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । विगत केही महिनादेखिको वर्षा अभावले सिँचाइमा गम्भीर समस्या उत्पन्न भएपछि यो निर्णय गरिएको हो ।
नगरपालिकाको कार्यपालिका बैठकले श्रावण ७ गते उक्त प्रस्ताव पारित गरेको हो । नगरप्रमुख मोहन पाण्डेका अनुसार, “सिँचाइको समस्या र प्रतिकूल मौसमका कारण खेतीपातीमा प्रत्यक्ष असर परेको छ । यस्तो विषम परिस्थितिमा किसानलाई राहत दिन पालिकाले मालपोत करमा पूर्ण छुट दिने निर्णय लिएको हो ।
साथै यस पालिकामा करीब पाँचहजार हेक्टर खेती योग्य जमीन रहेको मध्ये करीब पााच सय हेक्टरमा किशानहरुले उखु खेती गर्दै आई रहेको र यस्ता खडेरी मौसममा पनी धानको बिकल्पमा उखुखेतीमा जोड दिदैँ यस बर्ष एक हजार हेक्टरमा उखुबाली लगाउन किशानहरुलाई प्रोत्सान स्वरुप प्रती क्विण्टल पचास रुपैयाको दरले अनुदान दिने र उखुखेती गर्ने नया किशानलाई उखुको बिउमा समेत ५० प्रतीसत अनुदान दिने समेत निर्णय गरेको छ ।
यस्तो संकटको बेला नगरपालिकाको यो निर्णयलाई किसानहरूले खुलेर स्वागत गरेका छन् । मनरा शिस्वाका किसान एकजना किशान भन्छन सिँचाइ नहुँदा धान रोप्न सकिएको छैन । यस्तो बेलामा पालिकाले हाम्रो पीडा बुझेर राहत दिने निर्णय गरेपछि केही हदसम्म सान्त्वना मिलेको छ । उनले थपे, “हामीजस्ता साना किसानका लागि यो राहत अत्यन्तै महत्वपूर्ण छ । वर्षा नभए पनि कम्तीमा स्थानीय सरकारले हामीप्रति जिम्मेवारीको बोध देखाएको महसुस भयो ।”
नगरप्रमुख पाण्डेका अनुसार, पालिकाले अब आगामी दिनमा राहत प्याकेज र वैकल्पिक सिँचाइ प्रणालीका विषयमा पनि योजना बनाइरहेको छ । सौर्य उर्जा आधारित पानी तान्ने योजना, सामूहिक सिँचाइ पोखरी निर्माण, र जमिनको आद्र्रता मापन गर्ने प्रविधि प्रयोग गर्नेसम्मका विषयमा छलफल भइरहेको बताएका हुन् ।
वर्षा नहुनुका कारण न केवल सिँचाइमा समस्या देखिएको छ, खानेपानीको समेत चरम अभाव भएको छ । भूमिगत जलस्रोतको अत्यधिक दोहन र पुनर्भरण नहुँदा यस क्षेत्रका अधिकांश चापाकल सुकिसकेका छन् । नदी, खोलामा पनि पर्याप्त पानी नभएपछि नहर प्रणालीसमेत निष्क्रिय बनेको छ ।
यस्ता संकटको घडीमा मनरा शिस्वा नगरपालिकाले हाल दैनिक १ लाख लिटर खाने पानी ट्यांकरमार्फत वितरण गरिरहेको छ । मेयर मोहन पाण्डेका अनुसार, “एक–दुई दिनमै वितरणको मात्रा २ लाख लिटर पुर्याउने तयारी भइरहेको जनाएका हुन् ।
मधेशमा विगत केही वर्षदेखि हिउँद र गर्मीयाममा पर्याप्त पानी नपर्ने समस्या थियो । तर यो वर्ष बर्खा सिजनमा पनि अनावृष्टि भएपछि खेती, जलस्रोत र जनस्वास्थ्य तीनै क्षेत्रमा संकट चुलिएको छ । खासगरी किसानहरू खेती नहुँदा रोजगारी र आम्दानी दुवै गुमाउने अवस्थामा पुगेका छन् । त्यसमाथि पानीको अभावले जनस्वास्थ्यसमेत जोखिममा परेको छ ।
मनरा शिस्वा नगरपालिकाले किसानको समस्यालाई प्राथमिकतामा राख्दै मालपोत करमा पूर्ण छुट दिने निर्णय एक सराहनीय पहल हो । यसले अन्य स्थानीय तहलाई पनि किसान–मुखी निर्णय गर्न प्रेरणा दिने आशा गरिएको छ । साथै, खानेपानी वितरण र वैकल्पिक सिँचाइ योजनामा नगरपालिका सक्रिय देखिएको तथ्यले आगामी दिनमा संकट समाधानतर्फ आशा जगाएको छ ।









































































































