गोपाल झा
महोत्तरी , अषाढ १५ गत
महोत्तरीको बर्दीबासमा साढे चार बर्षअघि बलात्कारपश्चात हत्या गरिएकी ६ बर्षीया बालिका गुलाप्सा खातुन प्रकरणका थप दुई फरार प्रतिपादीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भनिएको प्रतिवादीहरु महोत्तरीको गौशाला नगरपालिका–५ घर भई बर्दिवास नगरपालिका–१४ शुभम बस्ती टोल बस्ने ६० बर्षीय राजकिशोर साह र उनकी ५१ बर्षीया श्रीमती शुशिलादेवी साहलाई सार्वजनिक गरेको हो ।
भारतमा लुकिछिपी बस्दै आएका उनीहरु आफन्तलाई भेट गर्न भारतीय सिमा क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.१२ नैनही गाँउ आएको भन्ने गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी टोलीले उनीहरु दुवैजनालाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागिआज महोत्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक शर्माले बताए ।बाराको कलैया नगरपालिका वडा नं. १५ घर भई महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ शुभम बस्तीमा डेरा गरी बस्ने ६ बर्षीया गुलाप्सा भन्ने गुलावसा खातुनको हत्या गरिएको अवस्थामा २०७७ मंसिर ९ गते घरनजिकैको झाडीमा उनको शव भेटिएको थियो ।
शव फेला परेको दुईदिनअघि घरबाट हराएकी गुलाप्सालाई महोत्तरी बर्दिवास नगरपालिका वडा नं.१४ बस्ने राज किशोर साहको २६ बर्षीय छोरा अरुण कुमार साहले बलीकालाई ललाई फकाई आफ्नो घरकोठा भित्र लगी करणी पश्चात हत्या गरेर शवलाई बोरामा हालेर झाडीमा फालेका थिए । अरुण हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका छन् ।









































































































