गोपाल झा
महोत्तरी, साउन २६ गते
जनकपुरधाम ७ का माछा बजारका १८ वर्षीय अर्जुन साहलाई पाँच जना मिलेर हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा हत्याको आरोपमा पक्राउ गरीएका पाँच जना लाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका ४ घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने ३२वर्षका जितकुमार यादव, त्यही ठाउँका २१ वर्षीय कृष्ण यादव, २५ वर्षका सन्तोषकुमार सुडी, त्यस्तै धनुषा औरही गाँउपालिका २ घर भइ क्षीरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा बस्ने २१ वर्षीया प्रमिला महरा र त्यही ठाउँका २०वर्षका विगुल मुखिया रहेका छन् । पक्राउ पर्ने जितकुमार र कृष्ण दाजु-भाइ हुन् भने प्रमिला र विगुल श्रीमान-श्रीमती हुन् । साउन २० गते घर बाट वेपता भए पश्चात खोजतलाश गर्ने क्रममा २३ गते लोहारपट्टी न.पा. वडा नं.८ भगवानपुर चौर स्थित भ्रमरपुरा बाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा अजय भन्ने अर्जुन साहको शव भेटिएको थियो ।
प्रहरी अनुसन्धान अनुसार घटनाको कारण
करीब एक वर्ष अगाडि प्रमिला, बिगुल र कृष्णले मृतक साहको घरबाट एक लाख रुपैयाँ नगद र सुनका गरगहना चोरी गरेका थिए । त्यसको ६ महिनापछि अर्जुनकी आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी त्यो रकम तिर्न प्रमिलाका श्रीमान् बिगुलले एक लाख १७ हजार र कृष्णले दुई लाख ४६ हजार रुपैयाँको तमसुक बनाएका थिए । तमसुक बनाएपछि उनीहरू सम्पर्कविहीन थिए ।
त्यसपछि अर्जुनकी आमाले उनीहरूलाई जनकपुरधाममै भेटेपछि तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाएको रिसइबीका कारण कृष्णले अर्जुनको हत्या गरेमा ३० हजार रुपैयाँ दिने भनेर आफ्ना दाजु जितकुमार र सन्तोषलाई भनेका थिए । त्यही योजना अनुसार साउन २० गते जितकुमारले अर्जुनलाई फोन गरी उनले चलाउँदै गरेको रिक्सा एक हजार रुपैयाँ भाडा दिइ रिजर्भ गरेर लोहारपट्टीको फूलबरिया गाउँ जाने भनी बोलाएका थिए । अर्जुन पुगेपछि जितकुमार र सन्तोषले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा गम्छाको पासो लगाएर रिक्साभित्रै हत्या गरेको बयान दिएका प्रहरीले बताएको छ । त्यसपछि अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टिको नहरमा फालेपछि उनीहरू दुवै जना त्यही रिक्सामा जनकपुर फर्किएका थिए । रिक्सा जितकुमारले चलाएका थिए । उनीहरू त्यो रिक्सा जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलको माँ जानकी सप्लायर्स प्रा. लि. बालुवा डिपो नजिकको सडकमा छोडी फरार भएका प्रहरीको अनुसन्धानमा खुलेको छ ।
घरमा भएको चोरीको घटना ढाकछोप गर्न बार्गेनिङ गरेर अर्जुनका घरपरिवारले चोरीमा संलग्नहरूसँग तमसुक बनाएको कारण नै हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
जित कुमार यादवका भाइ कृष्ण र बिगुलकी श्रीमती प्रमिलाको पूर्व योजनामा नै अर्जुनको हत्या भएको महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए । साहको योजनावद्ध हत्या भएको प्रहरीले पुष्टि गर्दै हत्या आरोपमा पक्राउ परेका पाँचजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । पक्रउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पंगेनीले पत्रकार सम्मेलनमा बताएका हुन् ।









































































































