गोपाल झा
महोत्तरी , २८ जेष्ठ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बोक्सीको आरोपमा दुई जना महिलामाथि निर्घात कुटपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली गाँउकी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी रहेको आरोप लगाएर कुटपिट गरेको महोत्तरी प्रहरीले जनाएको छ । स्थानीय रामु चमारको श्रीमती सोमन भनिने सोमारी देवीमाथी भुतप्रेत लगाएको भन्दे निज सोमारी देबी सहितकाले कालोदेबी र दुलरीया देबीलाई चुल्ठो समातेर हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका हुन् । दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले बताएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेको प्रहरी निरीक्षक राईले बताएका हुन् । प्रहरीले उक्त ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने श्री फल रामको छोरा ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।










































































































