प्रदेश २ को नामाकरण गर्ने सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । बिहीबार बसेको प्रदेशसभाको ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।
तर सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ । सत्तारुढ मध्येका जसपा र माओवादी तथा प्रमुख प्रतिपक्षी लोसपा नेपाल मधेस प्रदेशको पक्षमा छन् भने सत्तारुढ काँग्रेस विपक्षमा छन् । काँग्रेसले मिथिला भोजपुरा प्रदेशको प्रस्ताव गरेको हो ।
प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सत्तारुढ जसपा र माओवादी केन्द्रले ल्याएको मधेस प्रदेशको नाममा समर्थन गरेको छ । अर्को सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेश नाम राख्न प्रस्ताव पेस गरेको छ । जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमोदकुमार यादव, काँग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गरे ।
काँग्रेसकै राजेश्वरप्रसाद साहले भने मध्यमधेश प्रदेश नाम प्रस्ताव पेस गरेका छन् । प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेस भएन । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धी पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।
बिहीवारको प्रदेशसभा बैठकमा धेरैजसो प्रदेशसभा सदस्यले प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै हुनुपर्ने बताएका छन् । तर पर्सा र बाराका केहि साँसदले भने वीरगंजलाई स्थायी राजधानी तोक्नुपर्ने माग गरेका हुन् ।टुडेखाे









































































































