उच्च अदालत जनकपुरले जनकपुर बमकाण्डमा संलग्न रहेका पूर्वराज्यमन्त्री सञ्जय साहलाई ११ वर्षको कैद सजाय सुनाएको छ। विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायधिशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो।
फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ। यसअघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो। यद्यपि उच्च अदालतले जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको हो।
साह हाल काठमाडौंको नख्खु कारागारमा छन्। उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सभासद् रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो।
२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।









































































































