विनोद महतो
महेन्द्रनगर, असोज २८ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६ सिरसियाका स्वर्गीय रामबाबु यादवको परिवार बेचनी देवी अहिले आर्थिक संकटमा परेकी छिन् । पति रामबाबुको मृत्यु पश्चात कमाएर घरखर्च चलाउने र आम्दानीको कुनै स्रोत नभएपछि बेचनी देवी अहिले आर्थिक संकटमा फसेकी छिन् । गरिवीका कारण विरामी श्रीमान्को उपचार समेत गराउन नसकेकी र भएको श्रीसम्पति पनि श्रीमानकै उपचारमा खर्चिएपछि बेचनीको आर्थिक अवस्था एकदमै नाजुक भएको स्थानीयहरु बताउँछन् ।
विरामी श्रीमान रामबाबुको उपचार गराएर सबै श्रीसम्पति सकिएपनि बचाउन नसकेको उनी बताउँछिन् । श्रीमानको मृत्यु पश्चात घरमा दुई पैसाको जोहो गर्ने कोहि नभएकै कारण बेचनीको घरमा आर्थिक मारसँगै अन्न, लताकपडा लगायतको समस्या दिनदिनै बल्झिँदै गएको छ । अहिले बेचनीको परिवारमा एक ४ वर्षीया छोरी आरती यादव र उनी आफै गरी दुई जना मात्र छिन् । बेचनीको बस्ने घर समेत जर्जर अवस्थामा पुगेको छ ।
चार वर्षीया छोरी आरतीसँगै बेचनीको कहालीलाग्दो पीडाको जीवन देखेपछि सहयोगी हातहरु सहयोग गर्न अगाडी आएका छन् । समाज उत्थान कल्याण संघ जलेश्वर महोत्तरीको अगुवाईमा केही युवाहरुले एक आपसमा सहयोग जुटाएर बेचनीलाई सहयोग गर्दै आएका छन् । समाज उत्थान कल्याण संघ जलेश्वरको समन्वयमा पटक पटक आर्थिक सहयोग संकलन गरेर बेचनीलाई प्रदान गर्दै आएको संस्थाका सचिव प्रेम कुमार चौधरीले बताएका छन् । सहयोग गर्ने क्रममा पछिल्लो पटक असोज २८ गते विहिवार बेचनीको घरमै पुगेर युवाहरुबाट संकलित १७ हजार १ सय ७६ रुपैयाँ बराबरको खाद्यान्न, लताकपडा र नगद सहयोग गरिएको संस्थाका सचिव चौधरीले जानकारी दिएका छन् ।
सहयोगको क्रममा विहिवार ९ हजार २ सय ८१ रुपैयाँ नगद र ७ हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न, लताकपडा सहयोग गरिएको छ । बेचनी देवीलाई सहयोगका वैदेशिक रोजगमारीको क्रममा दुवई रहेका संतोष ठाकुर र राजेश साहले ११ हजार ७३ रुपैयाँ र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ७ का राजिव चौधरी, रामजी चौधरी, रेडिएन्ट डिभाइन लाइट स्कुलका संस्थापक भोगेन्द्र ठाकुर, विन्देश्वर ठाकुर,कुमार पासवान, राजा राम लगायतका युवाहरुबाट संकलित ६ हजार १ सय जम्मा गरी सहयोग गरिएको छ ।
यसअघि एक हप्ता अगाडी पनि बेचनी देवीलाई समाज उत्थान कल्याण संघ जलेश्वरकै समन्वयमा नगद, खाद्यान्न र लताकपडा सहयोग गरिएको थियो । हालसम्म संस्थाहै पहलमा पीडित परिवारलाई तीन पटक सहयोग गरिएको छ । यस्तै संस्स्थाले पीडित बेचनी देवीको घर निर्माणका लागि समेत मिथिला विहारी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राम प्रकाश यादवलाई आग्रह गरेको जनाएको छ ।











































































































