२२ असोज, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो ।
तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।
फिर्ता गरिदिएको विधेयक शुक्रबार बसेको प्रदेशसभाको बैठकले पुनः पारित गरेको छ । दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । यसअघि यो विधेयक २६ असोज २०७७ मा पारित भएको थियो
विधेयक पारित गर्ने सम्बन्धी आयोजित छलफलमा भाग लिँदै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद रामाशिष यादवले तत्कालीन प्रदेश प्रमुख झाले राजा बन्न खोजेर यो विधेयक पारित नगरी फिर्ता पठाएको बताए ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले झा प्रदेश प्रमुख बनेर आउँदा विधेयक पारित नगर्ने मनसाय बनाएकै कारण पारित नगरेको आरोप लगाए ।











































































































