प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रदेश कमिटीको समायोजन घोषणा गर्ने भएका छन् ।पूर्व राजपाबाट आएकाहरुलाई प्रदेश कमिटीमा समायोजन गर्ने सम्पूर्ण तयारी भइसकेको प्रदेश कमिटीका अध्यक्ष विजय कुमार यादवले बताए ।‘वर्तमान प्रदेश कमिटीको अन्तिम बैठक शनिवार सम्पन्न भएको छ । समायोजनपछि नयाँ कमिटीको बैठक हुनेछ । समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्नेछन् ।
जसपाको संशोधित बिधान अनुसार प्रदेश कमिटीमा अब १सय ५० जना रहनेछन् ।११ जना पदाधिकारीको संख्यालाई बढाएर १५ जनाको संख्या पुरयाइएको छ ।समायोजन भनिएपनि पूर्व राजपाको प्रदेश कमिटी नरहेकाले नेताहरुले गर्ने सिफारिस अनुसारका व्यक्तिहरुलाई समावेश गरिनेछ । जसपाका अध्यक्ष उपेन्द्र यादव ४ दिनसम्म जनकपुरधाममा रहनेछन् ।उनले जलेश्वरमा जितिया महोत्सवमा समेत सहभागि हुनेछन् । जसपाको आइतवार हुने कार्यक्रमकै समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेताको चयन हुनेछ ।जसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् ।नेकपा एकिकृत (समाजवादी)पनि चाँडै सरकारमा सहभागि हुने भएको छ । सरकार बाहिर रहेको नेकपा एमालेको ८ जना मात्र सभासद रहेकाले १६जना सभासद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ । अध्यक्ष यादवकाे स्वागतमा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पुर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहा, हरिनारायण यादव ,विद्यार्थी नेता सत्रुधन यादव,लगायत दर्जनाै नेता कार्यकर्ताहरुको उपस्थित थियो।










































































































