९ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।
विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् ।
नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै शरणमा परेर देशको शीर निहुराउने काम गरेको उनको भनाइ थियो ।
‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, भ्रममा पारेको अहिले देखा परिरहेको छ,’ यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।
संघीयता मास्नका लागि प्रतिगामी षडयन्त्र असफल भएको बताउँदै उनले फेरि पनि संघीयता समाप्त पर्ने षडयन्त्र हुने बताए । २००७ साल यताका परिवर्तन संस्थागत हुन नसकेको बताउँदै उनले जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धी मास्ने षडयन्त्र भइरहेको बताए ।








































































































