सरताज आलम,
आषाढ २० गते,
रौतहटमा शनिबार बस्ती पेसेको जंगली हात्ती भारत क्षेत्रमा प्रवेश गरेको छ । लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए उनका अनुसार भारतको बिहार सितामढी जिल्लाको मसहातर्फ गएको सो हात्ती जोडियाही भन्ने स्थानमा रहेको जानकारी प्राप्त भएको छ । वनबाट प्रवेश गरेको हात्ती बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेर शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो । शनिबार दिनभर वन कार्यालय, निकुन्ज र सुरक्षाकर्मीको टोलीले हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएनन् । शुक्रवार बाराको कलैया उपमहानगरपालिका २ मा खेतमा काम गरिरहेका एक किसानको ज्यान लिएको सो हात्ती रौतहटको शिवनगरको एक घरमा क्षति पुर्याएको थियो भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको थियो ।









































































































