२८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि एउटै छ’ उनले भने, ‘पार्टीबाट निष्कासन गर्न कमिटी चाहिन्छ । केन्द्रीय कमिटीमा बहुमत चाहिन्छ ।
यादवले सरकारमा जानेहरु मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरे । ‘केही मान्छेहरु पलायन भएर सरकारमा गएका हुन् । यो दुर्भाग्यपुर्ण छ, उहाँहरुले त्यो विस्तारै बुझ्नहुन्छ गलत बाटो हो भनेर । त्यो गलत बाटोले मधेश आन्दोलनलाई धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई कलंकित गर्छ’ उनले भने ।
प्रधानमन्त्रीलाई साथ दिने जसपा नेता निकटका नेतालाई प्रदेश २ सरकारबाट हटाइएको भन्दै उनले अब प्रदेश २ मा तपाईंहरु (जसपाको उपेन्द्र यादव पक्ष) को सरकार जोगियो अब अन्यत्र के हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले छोटो प्रतिक्रिया दिएका गरेका छन्, ‘अब अन्यत्र केपी ओलीको सरकार ढल्दै जान्छ ।
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने प्रदेश सरकारहरु विस्तारै ढल्दै जाने पनि बताए ।सभार अनलाइन खबर









































































































