मानबहादुर बस्नेत
दुई तिहाई बहुमतसहित शक्तिशाली सरकारको प्रधानमन्त्री बनेका केपी ओली तीन वर्ष तीन महिनापछि आफ्नो पद बचाउन कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने हैसियतमा आइपुगेका छन् ।
१८औँ पटक आफ्नो ‘मन्त्रिमण्डली’ फेरबदल गरेका ओलीले एउटा जाँचबुझ आयोगद्वारा दण्डित गर्नुपर्ने सिफारिसमा परेका अनिल झालाई मन्त्री बनाएर पुरस्कृत गरेका छन् । हिजो पुनर्गठित ओली मन्त्रिपरिषद्मा झा खानेपानी मन्त्री बनेका छन् ।
झा बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६८ देखि ०६९ सम्म उद्योग मन्त्री बनेका थिए । उक्त कार्यकालमा झा सरकारी स्वामित्वको विराटनगर जुट मिल्सको सम्पत्ति हिनामिनामा मुछिएको जाँचबुझ आयोगले ठहर्याउँदै नाम किटेरै कारबाहीको सिफारिस गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत विराटगरका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा सरकारले ११ चैत ०७५ मा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगको छानबिनमा झाले कम्पनीको सञ्चालक समितिको निर्णयबिनै क्षेत्राधिकार नाघेर मन्त्रीस्तरीय निर्णयबाट मिल्सको जग्गा व्यक्तिलाई उपलब्ध गराएकोमा दोषी देखिएका थियो ।
जुट मिल्सले केही निजी स्वामित्वको जग्गामा संरचना बनाएको विषयमा विवाद थियो । उक्त विवाद अदालतमा समेत प्रवेश गरेको थियो । तत्कालीन पुनरावेदन अदालत विराटनगरले जग्गा फिर्ता दिने/नदिनेबारे आधार कारण खोली निर्णय गर्नू भनी जुट मिल्सको सञ्चालक समितिका नाममा आदेश दिएको थियो ।
तर, सञ्चालक समिति निर्णयमा नपुग्दै उद्योग मन्त्रालयले २३ पुस ०६९ मा संरचना भत्काएर जग्गा फिर्ता दिने निर्णय गरेको थियो । यस्तो निर्णयबाट उद्योलाई घाटा पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
‘आफूलाई अधिकार नभएको विषयमा अधिकार क्षेत्रबाहिर गई निर्णय गरी विराटनगर जुट मिललाई घाटा पुर्याउने तत्कालीन विभागीय मन्त्रीको उक्त निर्णयलाई नियमसंगत भएको मान्न सकिएन,’ आयोगको प्रतिवेदनमा भनिएको छ ।
झालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउनसमेत सरकारलाई जाँचबुझ आयोगले निर्देशन दिएको थियो । कारबहीको सिफारिससहित आयोगले १६ असोज ०७६ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्रधानमन्त्री ओलीले नै बुझेका थिए ।
आयोगले जग्गा हिनामिना, शेयर स्वामित्व, उद्योगको मेसिनरी वस्तु बेच्ने कार्यमा संलग्न तत्कालीन प्रबन्ध सञ्चालक निलहरी काफ्लेसहितका पदाधिकारीमाथि कारबाहीको सिफारिस गरेको थियो ।
तर, झामाथि कारबाही गर्ने विषयलाई प्रधानमन्त्रीले निरन्तर पन्छाइरहे । विगतमा मधेसप्रति अनुदार प्रधानमन्त्री ओली आफ्नो सरकार जोगाउन जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेकालाई नै मन्त्रालयमा भित्राउन सफल भएका छन् । झा जनता समाजवादी पार्टीबाट सरकारमा सामेल भएका हन् ।
दुईतिहाइ जनतमतको सरकार जोगाउन नसकेर कामचलाउ हैसियतमा झरेका प्रधानमन्त्री ओलीले त्यही पद जोगाउनसमेत अनियमिततामा मुछिएका पात्रलाई मन्त्री बनाउनुपरेको छ । ३ फागुन ०७४ मा ओली दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री बनेका थिए । तर, एकल शक्ति अभ्यासको मोहले उनको तत्कालीन सत्ताधारी नेकपा आन्तरिक विभाजनमा फस्यो ।
दलभित्रको झगडाको रिसले ओलीले गत ५ पुसमा संसद् भंग गरिदिए । ओलीको उक्त कदमलाई ११ फागुनमा सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिदियो । त्यसको एक हप्तापछि नै सर्वोच्चले एमाले र माओवादी केन्द्रको एकता अवैध रहेको फैसला गरेपछि ओली सरकार दुईतिहाइ बहुमतबाट एकाएक अल्पमतमा झर्यो ।
त्यसपछि आफ्नो सरकार टिकाउन ओलीले विगतमा आफैँले वैरभाव देखाएको मधेसवादी दललाई सत्ताकवचको रूपमा भित्र्याउन बल गरेका थिए । अन्ततः जसपाको एउटा घटक ओलीको सत्ता सहयात्री बन्न राजी भएपछि २१ जेठमा मन्त्रिपरिषद्मा सामेल भयो ।
र ओलीले जुट मिलको सम्पत्ति हिनामिनामा संलग्नलाई पुरस्कृत गर्दै मन्त्री बनाए, आफ्नै कार्यालयमा रहेको जाँझबुझ आयोगको प्रतिवेदनलाई बेवास्ता गरे ।









































































































