प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर समूहका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।
कार्यसम्पादन राम्रो नरहेको भन्दै बर्खास्त गरिएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।
ठाकुर समूहका प्रदेश २ मा सोनल भौतिक पूर्वाधारमन्त्री, झा भौतिक पूर्वाधार राज्यमन्त्री, मण्डल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री र शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
बर्खास्तीमा परेका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट नियुक्त भएका सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेकाले मन्त्री पद सुरक्षित भएको छ ।
मन्त्री साह र राय दुवै जना उपेन्द्र यादवले ८ जेठमा बोलाएको कार्यकारिणी समितिको बैठकमा समेत सहभागी भएका थिए । साह महतोको कोटाबाट मन्त्रीबाट मन्त्री बनेका थिए भने राय महिन्द्र राय यादवको कोटाबाट मन्त्री भएका थिए । सप्तरी क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट निर्वाचित साह महतोको कोटाबाट मन्त्री बनेका हुन् ।
मन्त्रीमा निरन्तरता र आफ्नो राजीतिक भविष्य उपेन्द्रतिर लाग्दा सुरक्षित देखेर मन्त्री साहले समूह परिवर्तन गरेको उनीनिकट एक नेताले जानकारी दिए ।









































































































