स्वागतम समाचारदाता
महेन्द्रनगर, बैशाख ५ ।
वन कर्मचारीले गोप्य सूचनाको आधारमा धनुषाको मरधरबाट १३ थान सालको गोलिया बरामद गरेको छ । सालको १३ थान गोलियासहित ६ थान साइकल समेत बरामद गरेको वन कार्यालयले जनाएको छ । छ । सव डिभिजन वन कार्यालय पुष्पवलपुरका कर्मचारीले मिथिला नगरपालिका वडा नं.३ हरिहरपुरको मरधर भन्ने टोलबाट शनिवार राति करिव ११ बजेको समयमा उक्त काठ र साइकल बरामद गरेको जनाएको छ । गोप्य सूचनाको आधारमा वन कर्मचारी जमदार रामदेव यादवको कमाण्डमा खटिएको टोलीले काठ तस्करलाई समेत पक्राउ गर्न घेरा हालेको भएपनि राति भएकोले तस्करहरु काठ र साइकल छोडेर फरार भएको एक कर्मचारीले बताए । काठ तस्करले नजिकैको चुरे क्षेत्रको राष्ट्रिय वनबाट साइकलमा सालको काठ तस्करी गरिरहेको बताइएको छ । यता बरामद काठ र साइकल सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ ।
यसैबीच वन कार्यालयलाई सुराकी गरेको आरोपमा काठ तस्करीमा संलग्न भएकाहरुले मरधरकै कृष्णा पासवान नाम गरेका एक युवकलाई कुटपिट गरेको बताइएको छ । उनीहरुले सोही शनिवार राति नै करिव १२ बजेको समयमा कृष्णाको घरमा पुगेर कुटपिट गरेको बताइएको छ । साइकल र काठ पक्राउ पर्नु र सोही बेला कृष्णा त्यहाँ उपस्थित देखिएकोले यसैले सुराकी गरी वन कर्मचारीलाई भनेको भनी आरोप लगाउँदै तस्कारको समूहले आफुमाथि माथि हातपात गरेको पासवानले बताए । पीडित पासवानले आफुमाथि हातपात गर्नेहरु स्थानीय सुलिन्द्र महतो, रामअशिष महतो, अशोक महतो, सुमित चौधरी र राजेश पासवान रहेको बताए । कृष्णामाथि हातपात गर्ने पाँचैजना काठ तस्करी कार्यमा संलग्न रहँदै आएको आरोप छ ।









































































































