इस्लामाबाद, पुस २० गते ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा ११ सिया समुदायका मजदुरको अपहरणपछि हत्या भएको घटना सार्वजनिक भएको छ ।
कोइला खानीमा काम गर्ने मजदुरहरुको अपहरणपछि हत्या भएको हो ।
हालै भएको यस हत्याको जिम्मा आइएस समूहले लिएको रोयटर्सले जानकारी दिएको छ ।
अधिकारीहरुका अनुसार आइएसले सबै मजदुरको शिर काटेर हत्या गरेका थिए ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ११ निर्दोष मजदुरको हत्या भएको विषयमा दुख व्यक्त गर्दै यस कार्य कायरतापूर्ण र अमानवीय भएको बताएका छन् ।
खानले हत्यामा संलग्न भएकाहरुलाई पहिचान गरेर कारवाही गर्ने वाचा गरेका छन् ।
हाल आइएसका ती हत्याराहरु पक्राउ गर्न प्रहरीको पुरा शक्ति लगाइएको जनाइएको छ । एजेन्सी








































































































