प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध महोत्तरीको सदरमुकाम जलेश्वरलगायत देशभरी विरोध प्रदर्शन भएको छ ।
जनता समाजबादी पार्टी (जसपा) महोत्तरीले आज निर्धारित कार्यक्रमअनुसार जलेश्वरमा संसद विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको हो
बितेकाे आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी संसद विघटनको विरुद्ध प्रदर्शन गरेको जसपा महोत्तरीले जनाएको छ ।
संसद विघटन गर्ने निर्णय खारेजको माग गर्दै पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन जलेश्वरको विभिन्न चौकहरुको परिक्रमा गरी नगरपालिका चौकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि प्रधानमन्त्री ओलीले खोसेको जसपा ले आरोप लगाएको छ । दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको विरोध गर्दै शसक्त आन्दोलन गरिने जसपाले जनाएको छ ।
ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नहुन्जेल सम्म केन्द्रकै निर्देशनअनुसार विरोध गर्ने जसपाले जनाएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको भन्दै विरोध स्वरुप शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतीको पुत्लादहन गर्ने र शनिवार मसाल जुलुस प्रर्दशन गरिने जसपाले जनाएको छ ।
‘संसद विघटन गर्ने निर्णय खारेज गर्ने, अविलम्ब संसद पुनर्स्थापना गर्ने दिशामा अगाडि पट्टी बढाउनुपर्छ र पसिना बगाएर नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने कसैको हिमत नरहेकाे भन्दै आन्दोलनकारीहरु विरोध गरेका छन ।








































































































