३ पुष २०७७, शुक्रबार
काठमाडौं । प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरीलाई अपराधी माने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि जेल हाल्नुपर्ने बताएका छन् ।
नेता महतोले प्रतिनिधिसभा सदस्य चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरिए झापा विद्रोहमा संलग्न प्रधानमन्त्री ओली र १७ हजार जनाको ज्यान जाने गरि भएको सशस्त्र द्वन्द्वको नेतृत्व गरेको पूर्वप्रधनमन्त्री प्रचण्डलाई पनि जेल हाल्नुपर्ने बताएका हुन् ।
“झापा विद्रोहमा त्यति मान्छेको टाउको काटेका केपी ओली प्रधानमन्त्री बन्ने र जनयुद्धमा १७ हजारको ज्यान लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश चलाउने ?,” उनले लेखाजोखासँगको कुराकानीमा भने, “अनि टीकापुर घटनाका रेशम चौधरीलाई जेल हाल्ने ? यो कस्तो कानुन हो ? यो कस्तो न्याय हो ? रेशमलाई जेल हाल्ने कानुनले केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्छ ।”
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका चौधरीले सफाइको माग गर्दै उच्च अदालत दिपालयमा पुनरावेदन गरेको मुद्दाको सुनुवाई गर्दै बिहीबार जन्मकैद गर्ने जिल्ला अदालत कैलालीको फैसला सदर गरिदिएको छ । उक्त फैसाला सदर भएपछि लेखाजोखासँग प्रतिक्रिया दिँदै जसपाका नेता महतोले चौधरीलाई अपराधी मान्ने हो भने केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्ने बताएका हुन् ।
उनले चौधरीलगायत टीकापुर घटनामा दोषी ठहर भएका व्यक्तिहरुको रिहाइको माग गर्दै एक–दुई दिनभित्रै जसपाले देशव्यापी आन्दोलनको घोषणा गर्नेसमेत बताए । नेता महतोले भने, “हामीले रेशमलाई भएको अन्यायविरुद्ध आज–भोलिनै देशव्यापी आन्दोलनको घोषणा गर्दैछौं ।”
टीकापुरका जनतामाथिसमेत सरकारले विश्वासघात गरेको उनको तर्क छ । “जनताले मत दिएर जितेको व्यक्तिलाई जेलमा राख्ने कस्तो कानुन हो ?,” महतोले भने ।
टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा एक बालक र आठ प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो ।
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो । जिल्ला अदालतको फैसला त्रुटीपूर्ण रहेको र आफु निर्देष रहेको दाबी गर्दै चौधरीले २९ वैशाख, २०७६ मा उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेश गरेका थिए ।
चौधरीलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो । उनी फरार रहेकै अवस्थामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।








































































































