समाजवादी पार्टीले अाफनाे सबै सांसदहरुले दशैं भत्ता नलिने बताएका छन । जनता समाजवादी पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेको महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादवले जानकारी दिएका छन् । बैठकले दशैं भत्ता खारेज गर्न र कोभिड-१९ पीडितलाई राहत दिन माग समेत गरेको छ ।
बैठकले पार्टीकाे विधान संशोधनसहित पारित गरेको नेता यादवले जानकारी दिए ।
सोमबारबाट सुरु भएको बैठक मंगलबारसम्म जारी रहनेछ । बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।
गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो ।
पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । जसपाको केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार राई, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।








































































































