
१६ चैत, जनकपुरधाम । जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् ।
फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो ।
गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी र नगर प्रहरीको सहयोग लिएर डोजरले फुटपाथ खाली गराएका छन् । आइतबारदेखि केही मात्रै भत्काएपछि बाँकीले सोमबार बिहान ११ बजेसम्मको अल्टिमेटम दिइएको थियो । तर, अटेर गरेपछि सोमबार पुनः डोजर चलाइएको छ ।
फुटपाथ व्यवसायीहरूले भने आफ्नो जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै उनीहरूले आफ्नो मात्र नभई सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ठूला भवन र होटेलमा पनि डोजर चलाउन चुनौती दिएका छन् ।






































































































