गोपाल झा , महोत्तरी, चैत १३ गते
महोत्तरीको एकडारा गाउँपालिका यतिबेला ऐतिहासिक खुसीमा डुबेको छ । एउटै गाउँबाट दुई महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल भएपछि यहाँ हर्षोल्लासको वातावरण छाएको हो । महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा उज्ज्वलकुमार झा विजयी हुनु र सोही गाउँका युवा नेता बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नु, गाउँका लागि गर्वको विषय बनेको छ ।
स्थानीयहरूका अनुसार एकडारा गाउँले लामो समयदेखि राजनीतिक र सामाजिक रूपमा पहिचान बनाउँदै आएको छ । पञ्चायतकालमा कुलानन्द झाको प्रभावका कारण चिनिएको यो गाउँ अहिले नयाँ पुस्ताका नेताहरूका कारण फेरि राष्ट्रिय केन्द्रमा आएको छ । गाउँलेहरू भन्छन“पहिले कुलानन्द झा, र अहिले कुलानन्द झाको नाती उज्ज्वल झा र बालेन्द्र शाह—हामीले सधैं नेतृत्व दिने गाउँको रूपमा चिनिन पाएका छौं ।”
उज्ज्वलकुमार झाको जितसँगै गाउँमा सुरु भएको खुसीको लहर अझ बढेको छ , जब बालेन्द्र शाह देशको प्रधानमन्त्रीको सपथ लिएका छन् । आज एकडारा गाउँको ठाउँ–ठाउँमा मिठाई बाँड्ीएको थियो भने बेलुका गाँउभरी दीपावली मनाएका छन् र एकअर्कालाई बधाई दिने क्रम दिन भर चलिएको छ । युवा, वृद्ध, महिला सबैमा उत्साह उस्तै देखिएको छ ।
स्थानीयका अनुसार उज्ज्वलकुमार झा एक सक्रिय, जनतामुखी र विकासप्रेमी नेता हुन् । उनले निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता जनाएका थिए । “उहाँ हाम्रो आवाज संसदसम्म पुर्याउने विश्वासिलो प्रतिनिधि हुनुहुन्छ,” एक स्थानीयले भने ।
त्यस्तै, बालेन्द्र शाहको व्यक्तित्व र यात्रा पनि गाउँलेहरूका लागि प्रेरणादायी बनेको छ । सानैदेखि सरल, इमान्दार र सिर्जनशील स्वभावका शाहले राष्ट्रिय राजनीतिमा छोटो समयमै आफ्नो प्रभाव स्थापित गरेका छन् । “उहाँ सधैं फरक सोच राख्ने, काम गरेर देखाउने व्यक्ति हुनुहुन्थ्यो,” अर्का स्थानीयले भने, “आज प्रधानमन्त्री बनेपछि हामी सबैको सपना पूरा भएको जस्तो लागेको छ ।
हाल बालेन्द्र शाहको पुर्ख्यौली घरमा गाँउपालिकाको कार्यालय रहेको छ । गाँउ पालिकाको कार्यालय संचालन भईरहेको शाहको घरमा समेत दिपावली गरी गाउँलेहरूको उत्साह चरममा देखीएको छ । गाउँका युवाहरूले सामाजिक सञ्जालमार्फत बधाई सन्देशहरू प्रवाह गरिरहेका छन् भने घरघरमा दियो बालेर खुसी मनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार एउटै गाउँबाट प्रतिनिधिसभा सदस्य र प्रधानमन्त्री जस्ता महत्वपूर्ण पदमा व्यक्तिहरू पुग्नु दुर्लभ घटना हो । यसले एकडारा गाउँलाई मात्र होइन, समग्र महोत्तरी र मधेश प्रदेशलाई नै नयाँ पहिचान दिएको छ ।
अब गाउँलेहरूको अपेक्षा पनि बढेको छ । उनीहरू चाहन्छन् कि उज्ज्वलकुमार झाले आफ्नो क्षेत्रको विकासलाई तीव्रता दिनुहोस् र बालेन्द्र शाहले देशमा सुशासन, पारदर्शिता र विकासको नयाँ अध्याय सुरु गरून् । “हाम्रो गाउँ अब देशको नक्सामा अझ स्पष्ट देखिन थालेको छ,” एक स्थानीय युवाले भने, “अब विकास पनि त्यही अनुसार हुनुपर्छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकाल कस्तो रहनेछ र सांसद उज्ज्वलकुमार झाले आफ्नो क्षेत्रलाई कति अघि बढाउँछन् भन्नेमा सबैको चासो केन्द्रित छ । तर अहिलेका लागि भने, एकडारा गाउँ उत्सवमा रमाइरहेको छ—आफ्नै माटोका सन्तानले देशको नेतृत्व सम्हालेको गर्वका साथ ।







































































































