
सर्लाही । बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतासमेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन्
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्याशी थिए । तर उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामाशंकर कुशवाहासँग पराजित भए ।
गएराति सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरू पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झालगायतका नेता कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।
यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।








































































































