महोत्तरी । गौशाला नगरपालिका–१२ मा विद्युत पोलमा काम गर्ने क्रममा गम्भीर घाइते भएका रञ्जित यादवको उपचारका क्रममा मृत्यु भएको छ। २०८२ माघ २२ गते काम गर्ने क्रममा घाइते भएका यादवको उपचारकै क्रममा हिजो निधन भएको हो। मृतक यादवका परिवारजनले राम एकवाल रायको गौशाला स्थित निवास अगाडि मृतकको शव राखी क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन्। उनीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। परिवारजनका अनुसार रञ्जित यादव ठेकेदार राजु यादवको अधीनमा रहेर विद्युत पोलमा काम गर्दै आएका थिए। घटनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार तथा सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ। धर्नामा सहभागीहरूले नेपाल विद्युत प्राधिकरण गौशाला शाखा तथा सम्बन्धित पक्षसँग क्षतिपूर्तिको माग गरेका छन्। माग पूरा नभए भोलिदेखि कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। यसै सम्बन्धमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले पीडितलाई उचित न्याय दिलाउन आफूहरू लागिपर्ने बताएका छन्। हाल घटनास्थलमा पीडित पक्ष क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन् भने स्थानीय बासिन्दाहरूले पनि पीडित परिवारको मागप्रति समर्थन जनाइरहेका छन्।








































































































