
२३ माघ, विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ४८ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ४८ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो ।
बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी थिए ।
बैठकले निर्वाचनको ४८ घण्टा अगावै नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सील गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
निर्वाचनको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त सीमा गस्तीलाई तीव्रता दिने र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने समझदारी पनि भएको छ ।
छलफलका क्रममा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले साझा प्रतिबद्धता जनाएका छन् । तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश नियन्त्रण गर्ने, मानव बेचबिखन, जाली नोटको कारोबार, हातहतियारको तस्करी र लागुऔषध ओसारपसार रोक्न संयुक्त रुपमा प्रयास गर्ने सहमति पनि भएको छ ।
बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई पुरानो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए ।
भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र प्रहरीसँगको सहकार्यलाई अझ मजबुत बनाउने बताए ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कुमार न्यौपाने, अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए । भारतीय पक्षको नेतृत्व डीआईजी सरोजकुमार ठाकुरले गरेका थिए ।
टोलीमा मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।








































































































