चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन्। २०७४ को चुनावमा सप्तरी–२ बाट जितेका उनी २०७९ मा त्यही क्षेत्रबाट पराजित भएका थिए। त्यसपछि बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसद पुगेका थिए।
२०७४ मा उनले सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याएर विजय हासिल गरेका थिए। त्यतिबेला तत्कालीन राजपा नेपालले पनि उनलाई साथ दिएको थियो। राजपा नेपालले उपेन्द्र यादवलाई साथ दिएपछि सोही पार्टीका नेता जेपी ठाकुर स्वतन्त्र उम्मेदवार बनेका थिए, जसले तेस्रो स्थान हासिल गरेका थिए। अहिले उपेन्द्र यादवकै पार्टीमा रहेका तत्कालीन माओवादीका नेता उमेश यादव दोस्रो स्थानमा थिए। उमेश यादवले त्यतिबेला ११ हजार ५८० मत ल्याएका थिए।
यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा भने मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए।
यादव अहिले फेरि सप्तरी–३ पुगेका हुन्, जहाँ जसपा नेपालको संगठन सप्तरी–२ को तुलनामा कमजोर रहेको छ। उनले सप्तरी–२ बाट थुप्रै विकास निर्माणका काम गरेका थिए र संगठन निर्माणमा पनि त्यही क्षेत्रमा बढी ध्यान दिएका थिए।
बारा–२ बाट चुनाव जितेपछि पनि सप्तरी–२ मा उनको ध्यान केन्द्रित थियो। सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग कुरा नमिलेपछि सप्तरी–३ सरेका हुन्।
सप्तरी–३ मा आठ जना स्वतन्त्रसहित २२ जना उम्मेदवार छन्। उक्त क्षेत्रमा गत चुनावमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका थिए। एमालेका ताराकान्त चौधरी दोस्रो भएका थिए। उनलाई जसपा नेपालले साथ दिएको थियो भने जनमत पार्टी तेस्रो भएको थियो। चौथो स्थानमा रहेको लोसपा नेपाल अहिले जसपा नेपालसँग एकता गरिसकेको छ।
यो चुनावमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिद्वन्द्वीका रूपमा एमालेबाट ताराकान्त चौधरी र कांग्रेसबाट दिनेशकुमार यादव उम्मेदवार बनेका छन्। यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अमरकान्त चौधरी पनि उपेन्द्र यादवका लागि अर्को चुनौतीका रूपमा देखिएका छन्।
अमरकान्त चौधरी २०७४ मा सोही क्षेत्रबाट चुनाव जितेका चन्द्रकान्त चौधरीका छोरा हुन्। चन्द्रकान्त चौधरीको केही दिनअघि निधन भएको थियो।
सप्तरी–३ का स्थानीयहरू भन्छन्, ‘अहिले अमरकान्त शोकमा हुनुहुन्छ। उहाँलाई सहानुभूति मत पनि आउन सक्छ र बुबा चन्द्रकान्त चौधरीका कारण संगठन पनि राम्रो छ। यसले उपेन्द्र यादवलाई गाह्रो बनाउन सक्छ।’
एमालेबाट चुनाव लडेका चन्द्रकान्त चौधरी अमरकान्तका काका हुन्। जसपा नेपालका अध्यक्ष यादवको प्रभाव बढेमा काका–भतिजा मिल्ने सम्भावना पनि रहेको स्थानीय नेता तथा कार्यकर्ताहरू बताउँछन्।
एउटै संघीय लोकतान्त्रिक मोर्चामा रहेका जनमत पार्टीले सुरेन्द्रप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय मुक्ति पार्टीले गजेन्द्र मण्डललाई सोही क्षेत्रबाट उठाएको छ। उज्यालो पार्टी नेपालबाट प्रमेश्वरलाल साह, श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डल, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह, आम जनता पार्टीबाट धनिकलाल चौधरी, बहुजन एकता पार्टीबाट महादेव राम, नेपाल जनता पार्टीबाट सन्तोषकुमार चमन, नेपाल मजदुर किसान पार्टीबाट प्रभु प्रसाद साह र राप्रपाबाट उम्देश्वर प्रसाद साहुले उम्मेदवारी दिएका छन्।
त्यस्तै स्वतन्त्रतर्फबाट कौशलकुमारी चौधरी, हरिनारायण पासवान, सरिता कुमारी यादव, ओमप्रकाश विश्वकर्मा, दुवी लाल यादव, कौशिला देवी पासवान, रजिया देवी सदा र प्रभु नारायण चौधरी उम्मेदवार बनेका छन्।
सो क्षेत्रमा पहिलो जनसंख्या यादव समुदायको रहेको छ भने दोस्रो जनसंख्या थारु समुदायको रहेको छ। मधेसमा जातीय मत पनि प्रभावशाली हुने भएकाले यस आधारमा पनि अमरकान्त चौधरी र उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको स्थानीयहरू बताउँछन्।
सप्तरी–३ मा पाँचवटा पालिका रहेका छन्। तीमध्ये जसपा नेपाल–१ र लोसपा–१ गरी जसपा नेपालले दुई पालिका जितेको छ। एमालेले दुई र नेकपा एस (हाल नेकपा)ले एक पालिका जितेका छन्।









































































































