काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई परम्परागत र नयाँ वैकल्पिक राजनीतिक दलहरूबिचको ‘जनमत सङ्ग्रह’ को रूपमा हेरिएको छ। ‘जेनजी विद्रोह’ को बलमा गत भदौ २४ गते जननिर्वाचित केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि उत्पन्न विशेष परिस्थितिमा यो निर्वाचन हुन लागेको हो।
निर्वाचन हुने/नहुने संशयका बिच मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गगनकुमार थापाले विद्रोह गरी पार्टी नेतृत्व हत्याउँदै शेरबहादुर देउवाको विरासत अन्त्य गरेका छन्। गगनको विद्रोहलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका कार्यवाहक पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। काठमाडौँ–४ का स्थायी बासिन्दा थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाहीबाट उम्मेदवारी दिएका छन्। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ।
उता, ‘जेनजी विद्रोह’ को बलमा सत्ताच्युत भएका ओलीले साबिक निर्वाचन क्षेत्र झापा–५ बाटै उम्मेदवारी दिएका छन्। ओलीलाई काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले चुनौती दिएका छन्। एमालेले ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्। ओलीको पकड क्षेत्र मानिने झापा–५ मा जसले जिते पनि एक जना ‘भावी प्रधानमन्त्री’ पराजित हुने निश्चित छ।
यता, विवादै विवादका बिच चितवन–२ बाट तेस्रोपटक उम्मेदवारी दिएका रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारी दिएकै दिन पर्सा जिल्ला अदालतले उनीसँग एक करोड धरौटी माग गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २० वटा वामपन्थी घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन्।
सोही पार्टीका सह–संयोजक माधवकुमार नेपालले गृहजिल्ला रौतहट–१ बाट उम्मेदवारी दिएका छन्। निर्वाचनपछि प्रचण्ड चौथो पटक प्रधानमन्त्री बन्ने दाउमा छन्। पतञ्जलि जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेपाल भने चुनाव जित्नैपर्ने बाध्यतामा छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगै विघटित प्रतिनिधिसभामा उनको पद निलम्बनमा परेको थियो। ्ता
पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राणाबिच झापा–२ मा रोचक भिडन्त हुने देखिएको छ। त्यस्तै, मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कुलमान घिसिङ काठमाडौँ–३ बाट उम्मेदवार बनेका छन्।

- रविमाथि कानुनी तरबार र चुनावी चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन भएको तीन वर्षको छोटो अवधिमै तेस्रो पटक उम्मेदवारी दिएका छन्। वि.सं. २०७९ को निर्वाचनमा पार्टी स्थापनाको पाँच महिनामै ११ लाख ३० हजार मतसहित २१ सिट जिताएर तहल्का मच्चाएका लामिछानेले मंगलबार चितवनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराए।
अघिल्लो निर्वाचनमा ४९ हजार ३०० मत ल्याएर विजयी भएका उनी निर्वाचन लगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, दुई महिना नपुग्दै दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि ठहर गरेपछि उनी पदमुक्त भए। त्यसबेला उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए।
२०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट पुनः निर्वाचित भएका लामिछानेले पहिलेको तुलनामा अझ बढी (५४ हजार १७६) मत प्राप्त गरे। उनले कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ को विशाल मतान्तरले पराजित गरेका थिए। निर्वाचनपछि फेरि प्रचण्ड सरकारमा सामेल भएका उनी २०८१ साल असार ३१ गते कांग्रेस–एमाले गठबन्धन बनेपछि सरकारबाट बाहिरिए। केपी ओली नेतृत्वको सरकारले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि उनले सांसद पद गुमाउनुपर्यो। उनीविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन्।
यिनै मुद्दाका कारण ८ महिना जेल बसेका उनी ‘जेनजी विद्रोह’ को बलमा नख्खु जेलबाट निस्किएका थिए। चौतर्फी आलोचनापछि पुनः पुर्पक्षमा गएका उनी उच्च अदालत बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भए। रिहाइलगत्तै पुस १३ गते काठमाडौँका पूर्वप्रमुख बालेन शाहसँग ७ बुँदे सहमति गरी लामिछाने चुनावी मैदानमा होमिएका छन्। रास्वपाको बहुमतको सरकार बनाउने उद्घोषसहित आक्रामक प्रचारमा उत्रिए पनि कानुनी जोखिम टरेको छैन। विशेषगरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता लिन लगाएको विषयले उनी आलोचित बनेका छन्। यसपटक चितवन–२ मा लामिछानेविरुद्ध एमालेका अस्मिन घिमिरे, कांग्रेसकी मीनकुमारी खरेल र नेकपाका प्रताप गुरुङ प्रतिस्पर्धामा छन्।
- कुलमानको अग्निपरीक्षा: काठमाडौँ–३
‘जेनजी विद्रोह’ पछि उत्पन्न विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा काठमाडौँ–३ चर्चाको केन्द्रमा छ। पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएसँगै यस क्षेत्रमा चासो बढेको हो। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख घिसिङ रास्वपासँगको एकता सम्झौता तोडेर पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। उनले पुस २३ गते पदबाट राजीनामा दिएका थिए। राजनीतिक महत्त्वाकाङ्क्षा बोकेर प्रतिस्पर्धामा उत्रिएका घिसिङलाई चुनाव जित्नैपर्ने दबाब छ।
विगतको नतिजा हेर्दा, २०७९ सालमा यस क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसे १५ हजार १५१ मत ल्याएर विजयी भएका थिए भने एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत पाएका थिए। रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत ल्याएका थिए। यसपटक एमालेले रामेश्वर फुयाँल, नेकपाले नीरज लामा तथा रमेश अर्याल र रास्वपाले राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ।
- सर्लाही–४ मा गगनलाई अमरेशको ‘चेक’
नेपाली कांग्रेसभित्र शेरबहादुर देउवालाई वैधानिक तवरले हटाएर सभापति बनेका गगनकुमार थापाले उम्मेदवारी दिएपछि सर्लाही–४ मा सर्वत्र चासो बढेको छ। २०७० देखि काठमाडौँ–४ मा लगातार जित्दै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्। २०६४ सालमा समानुपातिक सांसद बनेका थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
पुस २७–३० मा भएको विशेष महाधिवेशनबाट सभापति बनेका थापाको नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो। आयोगको निर्णयविरुद्ध देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च गए पनि मंगलबार न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापालाई राहत मिलेको छ। पार्टी नेतृत्व कब्जा गर्न सफल भएका थापालाई चुनाव जित्नैपर्ने बाध्यता छ। तर, उनलाई कांग्रेसका पूर्वनेता डा. अमरेशकुमारΤले कडा चुनौती दिएका छन्। एमालेले रवि सिंह कुशवाहा र नेकपाले रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ। २०७९ को निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह २० हजार १७ मत ल्याएर विजयी भएका थिए।
- आफ्नै विरासत जोगाउने चुनौतीमा बाबुराम
आगामी निर्वाचनमा उम्मेदवारी नदिने प्रतिबद्धता विपरीत पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई गोरखा–२ बाट चुनावी मैदानमा उत्रिएका छन्। २०७९ सालमा प्रचण्डका लागि क्षेत्र छाडेका उनी तीन वर्षपछि फेरि प्रतिस्पर्धामा आएका हुन्। भट्टराईसँग कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी प्रतिस्पर्धामा छन्।
माओवादी जनयुद्धका एक मुख्य नेता उनी २०६४, २०७० र २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। ‘जेनजी विद्रोह’ लाई समर्थन गरेका भट्टराईले रास्वपा र युवाहरूको मत पाउने विश्वास लिए पनि उनलाई आफ्नो विरासत जोगाउन हम्मे पर्ने देखिन्छ। २०७९ मा यहाँ प्रचण्ड २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए।
- एक्ला ‘हेभीवेट’ उम्मेदवार प्रचण्ड
हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका पूर्वप्रधानमन्त्री तथा ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक माओवादीको आधारभूमि मानिने रुकुम पूर्व रोजेका छन्। मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका प्रचण्ड चुनाव जितेर चौथोपटक प्रधानमन्त्री बन्ने दाउमा छन्। यहाँ कांग्रेसले कुसुम थापामगर, एमालेले लीलामणि गौतम र प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दीप पुनलाई उठाएको छ।
प्रतिस्पर्धीको तुलनामा प्रचण्ड ‘हेभीवेट’ उम्मेदवार मानिन्छन्। २०६४ सालदेखि लगातार माओवादीले जित्दै आएको यो क्षेत्रमा २०७९ मा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मतसहित विजयी भएका थिए। त्यतिबेला कांग्रेसको समर्थन पाएका घर्तीमगरका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश कुमार मल्लले ५ हजार २११ मत मात्र पाएका थिए। यसपटक माओवादीको विरासत जोगाउने जिम्मेवारी प्रचण्डको काँधमा छ।
- झापा–२: पूर्वसभामुख र उपसभामुख आमनेसामने
झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्र चर्चामा छ। घिमिरे एमालेबाट र राना रास्वपाबाट उम्मेदवार बनेका हुन्। २०७९ को निर्वाचनपछि ओलीको जोडबलमा सभामुख बनेका घिमिरेमाथि सन्तुलित भूमिका निर्वाह नगरेको आरोप लाग्दै आएको छ। ‘जेनजी विद्रोह’ का क्रममा संसद् भवन जलाइएपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटन गरी मध्यावधि घोषणा गरेकी थिइन्।
संसद् पुनर्स्थापनाको पक्षमा देखिए पनि अन्ततः ओलीले घिमिरेलाई नै टिकट दिए। उता, उपसभामुख रानालाई ओली सरकारले हटाउन खोजेको थियो। सत्तापक्षको दबाब झेलेकी राना अब चुनावी मैदानबाट जवाफ दिने दाउमा छिन्। २०७९ मा घिमिरेले २८ हजार ७१६ मत ल्याएर जित्दा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४५५ मत ल्याएका थिए। यसपटक स्वागत नेपाल राप्रपा प्रवेश गरेका र बालेन शाह सोही जिल्लाको अर्को क्षेत्रमा उठेकाले घिमिरेलाई चुनाव जित्न निकै कठिन हुने विश्लेषण गरिएको छ।
- झापा–५: भावी प्रधानमन्त्रीहरूको रोचक भिडन्त
आगामी निर्वाचनमा झापा–५ ले सबैभन्दा बढी ध्यान तानेको छ। यहाँ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र काठमाडौँ महानगरका निवर्तमान प्रमुख बालेन शाहबिच कडा प्रतिस्पर्धा हुँदैछ। ओली आठौँ पटक चुनावी मैदानमा छन् भने बालेन संसदीय राजनीतिमा ‘डेब्यू’ गर्दैछन्।
चारपटक प्रधानमन्त्री भइसकेका ओली २०४८ सालदेखि लगातार यही क्षेत्रबाट उठ्दै आएका छन्। उनी २०६४ सालमा मात्र पराजित भएका थिए। २०७९ को निर्वाचनमा उनले ५२ हजार ३१९ मत ल्याएर जित हासिल गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए। यसपटक एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले यो क्षेत्रको लडाइँ निकै पेचिलो बनेको छ।राताेपाटी डटकम






































































































